गोरखा, १६ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेसी समुदायले उठाएका सबै माग पुरा गर्न नसकिने बताउनुभएको छ ।
मतदाता भेट्न शनिबार गृहजिल्ला गोरखा आउनुभएका भट्टराईले मधेसीका उचित मागलाई सम्बोधन गर्नुपर्ने भन्दै नाजायज माग कुनै हालतमा मान्न नसकिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो- मधेसी समुदायको मुख्य माग भनेको सीमांकन हो । पूर्वमा पर्सादेखि सप्तरीसम्म जुन प्रदेश छ, त्यसमा सुनसरी र मोरङ थपिदिनुपर्छ । पश्चिममा थारुहरुलाई पनि अन्याय भएको छ । कैलालीको खुट्टिया नदीदेखि पूर्वका चारवटा क्षेत्रलाई पाँच नम्बर प्रदेशमा गाभिदिनुपर्छ । त्यसपछि सबै समस्या पनि समाधान हुन्छ ।’
तर, नाजायज मागहरु भने कनै हालतमा मान्न नसकिने भट्टराईले स्पष्ट पार्नुभयो । ‘केही नाजायज मागहरु पनि छन् । जस्तोः अंगिकृत नागरिकता भएकाले मुख्य कार्यकारी पद पाउनुपर्ने भन्ने माग छ, त्यो बिल्कुल नाजायज माग हो’ उहाँले भन्नुभयो-‘यो कुनै पनि देशमा हुने अभ्यास छैन । यो माग पूरा गर्न सकिँदैन ।’
संविधानसभाबाट संविधान जारी गर्ने आफ्नो मुख्य माग पुरा भएकाले संविधान जारी गर्दा आफू असाध्यै हर्षित भएको उहाँको भनाइ थियो ।एमाओवादी पार्टी परित्याग गरी बाबुराम पहिलोपटक शनिबार गृह जिल्ला आउनुभएको हो ।












प्रतिक्रिया