इलाम, १६ असोज । इलाम नगरपालिका–५ गोलाखर्क भञ्ज्याङमा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको भलबाढीको निकास नहुँदा तल्लोतटीय क्षेत्रको बस्ती जोखिममा परेको छ ।
वर्षाको पानीले विमानस्थलबीचमै खोल्सा बनाएर तल्लो क्षेत्रको सयौं रोपनी जमिन कटान गरेको छ । विमानस्थलबाट गएको भलबाढीले स्थानीय तेजबहादुर निरौलाको करिब ४० रोपनी धान फल्ने खेत पुरेको छ ।
उहाँले भलबाढीको क्षतिका बारेमा पटकपटक स्थानीय प्रशासन, विमानस्थल आयोजना, जिल्ला विकास समिति, नगरपालिका कार्यालय र राजनीतिक दलहरूलाई जानकारी गराएपनि भलबाढी नियन्त्रण गर्न भरपर्दाे पहल नभएको गुनासो गर्नुभयो ।
व्यवस्थापिका–संसद् अर्थ समितिअन्तर्गतको सार्वजनिक खरिद व्यवस्था उपसमितिको टोलीले गतवर्ष निर्माणाधीन आयोजनाको अनुगमन गरेको थियो ।
“विमानस्थल बन्ने भएपछि पितापुर्खादेखि बस्दै आएको घर र जमिन छाडेर झरियो, अहिले त्यहीँको माटोले बगाउलाझैँ भएको छ ।”–स्थानीय रनमाया तामाङले भन्नुभयो ।
नगरपालिकाले तोकेको मुआब्जा लिएर विमानस्थलदेखि केही तल बसाइँ सरेकी तामाङको घर नजिकै खोल्सो बनेर गहिरिँदै गएको छ । “यसअघि यहा“ खोल्सो थिएन, माथि काम सुरू भएपछि पानीले बगाएर यस्तो बनायो,”–तामाङले भन्नुभयो । तामाङको जस्तै त्यहा“का दर्जन बढी घर जोखिममा परेका छन् ।
विमानस्थल सुधारका लागि नागरिक उड्डयन प्राधिकरणले गत आवमा करिब रु एक करोड बजेट छुट्याएको र त्यसमार्फत भएको काम पनि पहिरोले प्रभावित पारेको छ । विमानस्थलदेखि माइखोलासम्म क्षति पु¥याउँदा नजिकका बस्ती, खेतीयोग्य जमिन र विमानस्थलनै जोखिममा पर्ने अवस्था आएको छ । विमानस्थल भिरालो भएकाले यहाँको सबै निकास एकै ठाउँमा भेला भएर जाने र तल्लो क्षेत्रमा बाढीको रूप लिने गरेको पाइएको छ ।
सुकिलुम्बा विमानस्थल आयोजनाका प्रमुख पशुपति राजवंशीले आफूले बेलैमा माथिल्लो निकायमा जानकारी गराएको र आगामी वर्षमा आउने बजेटबाट भलबाढी नियन्त्रणको काम हुने बताउनुभयो ।
पर्यटन विभागको निर्देशनअनुसारनै काम भएको तर सीमित बजेटका कारण भलबाढी र पहिरो नियन्त्रण गर्न नसकेको उहाँले बताउनुभयो ।
६० मिटर चौडा र ७६० मिटर कच्ची धावनमार्ग निर्माण भइसकेको छ । रु सात करोड खर्च गरेर धावनमार्गसहित ‘ग्याविन वाल’ र ‘कल्भर्ट’ निर्माण भइसकेको छ । विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरका लागि भवन, कालोपत्रे, नाली निर्माण, विमान पार्किङ तथा कार पार्किङ, विमानस्थलसम्मका सडक र नाली निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सबै काम पूरा गर्न अझै रु १३ करोड बढी रकम चाहिने प्राधिकरणले जनाएको छ ।
१८ यात्रु अटाउने ट्वीनअटर जहाज उडानअवतरण हुने सो विमानस्थलका लागि आवश्यक ३२८ रोपनी जग्गा जिविस, नगरपालिका, गाविस, दर्जनौं सङ्घ संस्था र निजीस्तरबाट रकम सङ्कलन गरी खरिद गरिएको थियो । रासस
















प्रतिक्रिया