खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन् । नेकपा (एमाले)बाट खेलकुद मन्त्रालय सम्हालिरहेका पौडेलले अन्ततः मन्त्री पद छाड्न बाध्य हुनुपरेको हो ।
एमाले नेता माधव नेपालको सिफारिसमा मन्त्री भएका पौडेलको यसअघि पनि विरोध भएको थियो भने, पार्टीले समेत फिर्ता बोलाएको थियो । तर, उनी त्यो बेला फिर्ता गएनन् ।
पहिलो कारण
पौडेलले मन्त्री भएपछि पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई नटेरिकनै राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा आफूखुसी सदस्यसचिव नियुक्ति र अन्य राजनीतिक निर्णय गरे ।
ओली र प्रधानमन्त्री सुशील कोइरालाको सहमति नलिइ विवादास्पद व्यक्तिलाई राखेपको सदस्य सचिव नियुक्ति गरेपछि पौडेलको मन्त्री पद संकट परेको थियो ।
उनले असार १० गते सेपाक ताक्रोका कार्यबाहक अध्यक्ष केशव विष्टलाई राखेप सदस्य सचिवमा नियुक्त गरेसँगै उनको दिनगन्ती सुरु भएको थियो । विष्टमाथि इन्चोन एसियाडमा खेलाडी भगाएको आरोपमा राखेपले एक वर्षसम्म कुनै पनि खेल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । त्यो प्रतिबन्ध कायम हुँदाहुँदै मन्त्री पौडेलले नियम मिचेर विवादास्पद विष्टलाई राखेप सदस्य सचिव बनाएरै छाडे । जुन प्रस्ताव मन्त्रिपरिषद्बाट समेत अस्वीकार भयो ।
रोचक कुरा त के छ भने इन्चोन एसियाडमा खेलाडी अमन पोडे कोरियामै लुकेपछि पौडेलको नेतृत्वको राखेपले विष्टलाई एक वर्षसम्म खेलकुदसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिवन्ध लगायो ।
तर, आफैँले कारवाही गरेका विष्टलाई पौडेलले नियम मिचेर एकलौटी निर्णयमा आफैले राखेप सदस्य सचिव बनाइदिए ।
लगत्तै उनलाई पार्टीले फिर्ता बोलायो । तर, नेता नेपाल पक्षका पौडेलले भने पार्टीको आधिकारिक निर्णय मागे । नेपालले पनि पौडेललाई नहटाउन पार्टी अध्यक्ष ओलीलाई चेतावनी दिए । जसकारण त्यो बेला उनको पद जोगियो ।
विष्टलाई सदस्य सचिव बनाएपछि यो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । अख्तियारले राखेपमा विवादित विष्टलाई नियुक्त गरिएको विषयमा मन्त्री पौडेललाई विभागीय काराबाही गर्न निर्देश गरेको थियो ।
उनलाई चाबुक लगाउने माध्यम बन्यो अख्तियार । पौडेलसँग रिसाएका आफ्नै पार्टीका अध्यक्ष ओली र प्रधानमन्त्री कोइरालाले यही उपयुक्त समयको मौका छोपेर सरकार कामचलाउ हुनु दुई दिनअघि बर्खास्त गरे । योसँगै पौडेलको अहिलेको मन्त्री पदको अध्याय समाप्त भएको छ ।
अख्तियारकै निर्देशअनुसार प्रधानमन्त्री कोइरालाले मंगलबार मात्रै एमाले अध्यक्ष ओलीलाई पत्र पठाएर खेलकुद मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरे । कोइरालाले पौडेललाई नबोलाए बर्खास्त गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्रीले नै बर्खास्त गर्ने जनाइसकेपछि मन्त्री पौडेलले बाध्य भएर सरकारबाट राजीनामा दिएका हुन् । यो त भयो प्रशासनिक कारण ।
दोस्रो कारण
दोस्रो कारण विशुद्ध राजनीतिसँग सम्बद्ध छ । अहिले एमालेमा गुटबन्दीको अन्त्य भइरहेको भएपनि नवौँ राष्ट्रिय महाधिवेशनका बेला थुप्रै गुट उपगुट थिए । महाधिवेशनमा नेताद्धय नेपाल र ओली अध्यक्षका दाबेदार थिए । त्यो बेला आफ्ना मत जुटाउन थुप्रै ‘बार्गेनिङ’ भयो । त्यही ‘बार्गेनिङ’कै कारण पौडेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाए ।
स्रोतका अनुसार नवौँ महाधिवेशन अघि झलनाथ खनाल प्यानलका पौडेल मन्त्री पदकै ‘बार्गेनिङ’मा नेपाल पक्षतिर लहसिएका हुन् । आफू स्वयमले समेत केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका पौडेल महाधिवेशनमा पराजित भए । र नेपाल पनि अध्यक्षमा पराजित भए ।
तरपनि पौडेलले ‘बार्गेनिङ’अनुसार मन्त्री पद पाए । उता झलनाथले ओलीलाई सहयोग गरे । महाधिवेशनको मुखमा आफ्नो साथ छाडेपछि पौडेलदेखि झलनाथ रुष्ट थिए । आफैले सहयोग र समर्थन गरेका ओली अध्यक्ष भएपछि पौडेललाई फिर्ता बोलाउन झलनाथको चर्काे दबाब थियो । नेपालको सहयोग पाइरहञ्जेल पौडेललाई ओली र झलनाथले मन्त्री पदबाट झिकाउन सकेनन् ।
माथिका यी सबै विषयले बेलगाम भएका पौडेलले आफू खुसी निर्णय गर्नु र अध्यक्षलाई नटेर्नु सबैको टाउको दुःखाइ भइरहेको थियो । उनलाई चाबुक लगाउने माध्यम बन्यो अख्तियार । पौडेलसँग रिसाएका आफ्नै पार्टीका अध्यक्ष ओली र प्रधानमन्त्री कोइरालाले यही उपयुक्त समयको मौका छोपेर सरकार कामचलाउ हुनु दुई दिनअघि बर्खास्त गरे । योसँगै पौडेलको अहिलेको मन्त्री पदको अध्याय समाप्त भएको छ ।













प्रतिक्रिया