१० कार्तिक २०८३, मंगलबार

नाकाबन्दीको विरोधमा सडकमा उत्रिए भारतीय नागरिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india

बागलुङ, १५ असोज । भारतले नेपालको सीमा नाकामा लगाएको अघोषित नाकाबन्दीप्रति यहाँ बस्ने भारतीयले विरोध जनाएका छन् ।

भारतका विभिन्न ठाउँबाट पेसा व्यवसायका सिलसिलामा बागलुङ आएका उनीहरुले नेपालमाथि भएको भारतीय हस्तक्षेप निन्दनीय भएको धारणा राखे । भारत र नेपालको मधेसबाट यहाँ आएका व्यवसायी अघोषित नाकाबन्दीविरुद्ध बिहीबार यहाँ भएको प्रदर्शनमा उनीहरु सहभागी भए ।

संयुक्त विद्यार्थी सङ्घर्ष समिति र राष्ट्रिय स्वाधीनताका लागि सामाजिक सञ्जाल बागलुङले आयोजना गरेको सद्भाव पदयात्रामा समेत भारतीय सरिक बने ।

भारतको उत्तर प्रदेश नौतुनाका जयकुमार शर्माले नेपालमाथिको नाकाबन्दी तुरुन्त फिर्ता लिन भारतसँग आग्रह गर्नुभयो । उहाँले सबैभन्दा नजिकको छिमेकी मुलुकले नाकाबन्दी गर्नु दुर्भाग्य रहेको टिप्पणी गर्दै भारतीय र नेपालीबीच असल सम्बन्ध कायम हुनुपर्ने बताउनुभयो ।

भारतीय हस्तक्षेपविरुद्धको प्रदर्शनमा सहभागी बारा जिल्ला निवासी महेन्द्र साहले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम रहनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको राष्ट्रिय स्वाधीनता कमजोर पार्ने काम कतैबाट पनि हुन नहुने उल्लेख गर्नुभयो । “हामी तराई मधेस, पहाड, हिमालमा बस्ने सबै नेपाली हौँ, हाम्रो एकता बलियो हुनुपर्छ”, साहले भन्नुभयो– “सीमा क्षेत्रमा भारतले गरेको अघोषित नाकाबन्दी बेठीक छ, यो हामीलाई सह्य छैन ।”

भारतीय तथा तराई मधेसका नागरिकले नाकाबन्दी हटाई असल छिमेकीको व्यवहार प्रदर्शन गर्न भारतसमक्ष आग्रह गरेका थिए । वीरगन्जका रमेश ठाकुरलगायत थुप्रै मधेसी समुदायका व्यक्ति पनि नाकाबन्दीविरुद्धको प्रदर्शनमा सहभागी बनेका थिए ।

संयुक्त विद्यार्थी सङ्घर्ष समिति र राष्ट्रिय स्वाधीनताका लागि सामाजिक सञ्जाल बागलुङले भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका हुन् । हस्तक्षेप नहटेसम्म सङ्घर्षका थप कार्यक्रम सञ्चालन गर्दै जाने विद्यार्थी नेता भीमसेन वनले बताउनुभयो ।

उहाँले सामाजिक सद्भावको सन्देश दिन भारतीय, मधेसी, पहाडी मिलेर संयुक्त रुपमा प्रदर्शन तथा सद्भाव पदयात्राको आयोजना गरिएको जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष वसन्तकुमार श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि सबै नेपाली एक जुट हुनुपर्ने बेला आएको बताउनुभयो ।

राष्ट्रिय स्वाधीनताका लागि सामाजिक सञ्जालका अगुवा मुकेशचन्द्र राजभण्डारीले सानो देशको स्वाधीनता सानो हुने ठूलोको ठूलो हुने कुरा दुनियाँमा कहीँ नभएको विचार राख्नुभयो । रासस