२१ कार्तिक २०८३, शनिबार

आइतबारदेखि तातोपानी नाका खुल्ने, सयौ मालबाहक ट्रक एक साथ नेपाल भित्रिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tatopani-naka

– रामसुन्दर आचार्य
तातोपानी, १५ असोज । चीनसँग जोडिएको तातोपानी नाका आइतबारदेखि खुल्ने भएको छ ।

भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्ग आइतबारबाट खुल्ने भएपछि तातोपानी नाकाबाट चीनले नेपालमा आपूर्ति गर्ने भएको हो ।

सडक डिभिजन कार्यालय सिन्धुपाल्चोकका अनुसार आइतबार बेलुकादेखि तातोपानी नाकाबाट चिनियाँ मालवहाक सवारी नेपाल भित्रिने तयारीमा छन् । पहिरोले अवरुद्ध सडक पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको र आइतबारबाट सूचारु हुने सडक भिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर रामहरी पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- ‘बाटो लभगभ क्लियर भइसकेको छ, केही ठाउँमा भएको अवरोध डोजर, एक्साभेटर लगाएर हटाउँदैछौं, आइतबारसम्ममा सडक सूचारु हुन्छ । सम्भव त आइतबार बेलुकादेखि नै चिनियाँ मालबाहक सवारी नेपाल प्रवेश गर्ने सूचना पाएका छौं ।’

तातोपानी भन्सार कार्यालयका अनुसार भारतको अघोषित नाकाबन्दीलाई मध्यनजर गर्दै चीन सरकारले सडकको पहिरो हटाउन आफ्ना विशेष सैनिक फौज तातोपानीमा परिचालन गरेको छ । नाका खोल्न सक्रिय चिनियाँ सैनिक कमाण्डरहरुले पनि आइतबार सम्ममा नाका खुल्ने बताएका छन् ।

tatopani_naka-dhruba_pic2आइतबारदेखि नै सडक सूचारु हुने भएपछि चिनियाँ मालबाहक सवारीहरु सीमा नाकामा तयारी अवस्थामा छन् । नाका खुल्ने वित्तिकै चीनले अत्यावश्यक सामग्रीहरु नेपाल पठाउने जनाइसकेको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूत वु छुन्ताईले पनि सडक सूचारु हुनेवित्तिकै चीनले आपूर्ति गर्ने बताए । छिमेकीलाई दुःख अप्ठेरो पर्दा चीन जस्तोसुकै सहयोग गर्न तयार रहेको राजदूत छुन्ताईको भनाई छ ।

तातोपानी सीमा नाकामा नेपालतर्फको अवरोध हटाउन भदौ २५ बाट काम सुरु भएपछि सरकार र अर्थमन्त्री रामशरण महतको वेवास्थाका प्रभावकारी हुन सकेको थिएन् । भारतको नाकाबन्दीपछि स्थानीय नागरिक, जिल्ला विकास, उद्योगी व्यापारीहरुको पहलमा अवरोध हटाउने कार्यले तिव्रता लिएको छ ।

यस्तै, तातोपानी नाका खोल्न एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि श्रमदान गरिरहेको छ । विहीबारदेखि श्रमदानमा खटिएको अनेरास्ववियुले भने शनिबार नै कोदारी राजमार्गको अवरोध हटाईसक्ने जनाएको छ । श्रमदानमा खटिएका अनेरास्ववियुका केन्द्रीय सदस्य जेनिस लामाले शनिबारसम्म सडक खोल्ने गरी आफूहरुले श्रमदान थालेको बताउनुभयो । उहाँले भन्नुभयो-‘हामी आफ्नै सामग्रीमा सडकको अवरोध हटाउन कार्यमा छौं, तीन वटा ठूला एक्साभेटर प्रयोग गरेका छौं । सबैको मेहनतमा शनिबारभित्रै सडक खुल्छ ।’

यस्तै, चीनसँगै जोडिएको रसुवागढी नाका खोल्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ । रसुवागढी भन्सारका प्रमुख लक्ष्मण पनेरुले दुई/चार दिनमै चीनबाट आपूर्ति हुने जनाए । उहाँले भन्नुभयो- ‘हाम्रोतिर सबै क्लियर छ । उता(चीन)बाट २/३ लाग्छ भनिएको छ । अब चाँडै नाकाबाट आपूर्ति हुन्छ ।’  चीनसँग जोडिएका अन्य नाका खोल्न चीन र नेपालका अधिकारी जुटिरहेका छन् । भारतको आघोषित नाकाबन्दीसँग जुध्न नेपाललाई चीनले नाका खोलेर साथ दिन खोजेको छ ।