काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अघोषित नाकाबन्दीले नेपाललाई भन्दा पनि भारतीय पक्षलाई दीर्घकालीन रुपमा असर पर्ने बताउनुभएको छ । नाकाबन्दीले भारतविरोधी मानसिकता जरजस्त रुपमा आएको उहाँले बताउनुभयो ।
नेता थापाले नेपाली जनतालाई केही समय दुःख भए पनि भारतविरोधी मानसिकता लामो समयसम्म रहिरहने र यसले भारतलाई वेफाइदा रहने उल्लेख गर्नुभयो । ‘नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री बनेर नेपाल भ्रमण आउँदा नेपाल र भारतबीचको सम्बन्ध राम्रो भएको थियो ।
नेपालमा भव्य स्वागत भएको थियो’, थापाले भन्नुभयो, ‘नाकाबन्दीले भारतीयविरुद्ध नेपाली मानसिकता बढेको छ । अब त्यस्तो अवस्था नरहन सक्छ ।’
कांग्रेस नेता थापाले भारत विरोधी भावना वर्षौं वर्ष रहने उल्लेख गर्नुभयो । भारतले आनाकानी नगरेर तत्काल अघोषित नाकाबन्दी खुला गर्नुपर्ने पनि बताउनुभएको छ ।
उहाँले नेपालले आगामी दिनमा हुने नाकाबन्दीको सामना गर्नका लागि पूर्वाधार तयार पार्नुपर्ने बताउनुभएको छ । अहिले पनि नाकाबन्दीसँग जुध्नका लागि सरकार र दलहरूले खासै पहल गरेको आफूले नपाएको बताउनुभएका कांग्रेस नेता थापाले भन्नुभयो, ‘बाटोघाटोका कारण तत्काल चीनसँग आयात गर्ने अवस्था छैन । भारतसँगै कुटनीतिक पहल गरेर नाकाबन्दी हटाउनुपर्छ ।’
वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा भारतमा नाकाबन्दी खुलाउन र आपूर्ति व्यवस्था सहज बनाउन नगएको उहाँको भनाइ छ ।
‘सरकारले नाकाबन्दी खुलाउनका लागि कुनै पहल गरेको छैन’, उहाँले भन्नुभयो, ‘आपूर्तिमन्त्री अर्कै प्रयोजनका लागि भारत गएका हुन् । यहाँ अर्कै प्रचार गरियो । हाम्रा राजदूत दीपकुमार उपाध्याय पनि नेपालमै बसेर दाइमारिरहेका छन् । भारतमा बसेर कुटनीतिक पहल गर्नुपर्नेमा काठमाडौंमा घुमिरहनुभएको छ ।’












प्रतिक्रिया