– सुदीप अधिकारी
बर्दिया, १३ असोज । बर्दियाको मैनापोखरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच बुधबार दिउसो झडप भएको छ ।
झडपमा ३ प्रहरी र ५ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि सडक खुलाउन सदरमुकामबाट प्रहरी उपरीक्षकको नेतृत्वमा गएको टोलीमाथि ढुंगामुढा भएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरले जानकारी दिए ।
प्रदर्शनकारीले प्रहरीको भ्यानलाई रोकर एक्कासी ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै ८ सेल अश्रुग्यास प्रयोग गरेर स्थितीलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताए ।

प्रदर्शनकारीको ढुंगा लागेर शसस्त्र प्रहरीका हवल्दार नरजंग रोका, नेपाल प्रहरीका हवल्दार तिर्थराज गिरी र प्रहरी जवान गीता चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
प्रर्दशनकारीतर्फ कति घाइते भए भन्ने प्रहरीले एकीन नगरे पनि थरुहटका जिल्ला नेताले भने दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएको दावी गरेका छन् । प्रहरीको कुटाइबाट गम्भिर घाइते भएका ५ जना कार्यकर्तालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थरुहटका युवा नेता बिरु चौधरीले जानकारी दिए ।















प्रतिक्रिया