गोरखाबजार, १३ असोज । गत असारदेखि अवरुद्ध हुँदै आएको गोरखाको बारपाक सडकखण्ड आजदेखि सञ्चालन भएको छ ।
एक्सकाभेटरले गत भदौ २६ गतेदेखि बालुवा–बारपाक सडकखण्ड खुलाउन सुरु गरेको थियो । अहिले जिप, ट्र्याक्टर, साना फोरह्वील ट्रक बारपाक गाउँसम्म पुगेका छन् । जिल्लास्थित सडक कार्यालयले अवरुद्ध सडक खुलाएको हो ।
बारपाक–४ का स्थानीयवासी तेजबहादुर घलेका अनुसार चार दिन लगाएर अवरुद्ध बाटो खुलाइएको हो । बारपाकदेखि लाप्राक हुँदै गुम्दा गाउँसम्मको बाटो पनि खुलाउने तयारी गरिएको छ । भूकम्पको केन्द्रबिन्दु बारपाक पुग्ने सडक अवरुद्ध भएपछि राहतका सामग्री ढुवानीमा समस्या हुँदै आएको थियो । अत्यावश्यक सामग्रीहरु ढुवानी सुरु गरिएपनि डिजेल अभावले धेरै गाडी गुडेका छैनन् ।
त्यस्तै, नेपाल टेलिकम र एनसेल मोबाइलका टावरहरु पनि अवरुद्ध छन् । टेलिकमको बारपाकस्थित टावरमा जडान गरेको सोलार प्यानलले काम नगरेको र एनसेलको जेनेरेटरमा डिजेल नभएपछि टावर अवरुद्ध भएको हो । “बाटो खुल्यो । अब मोबाइल टावरको मर्मत चाँडै हुन्छ” घलेले भन्नुभयो – “टेलिकमका कर्मचारीले हिँडेर बारपाक जान नसक्ने भन्दै टावर मर्मत गरेका थिएनन् ।”
सिम्जुङको बालुवा बजारसम्म वर्षायाममा पनि सडक सञ्चालन हुन्छ । त्यसमाथि बारपाकसम्मको १५ किलोमिटर सडक कच्ची हो । भूकम्पले धाँजा फाँटेको डाँडामा पानी परेपछि पहिरो झरेको थियो । साथै, मान्द्रेको गोरेटो बाटो पनि स्थानीयवासीले मर्मत गरेका छन् । गोरखा बजारदेखि ५२ किलोमिटर दूरीमा बारपाक गाउँ पर्छ । रासस















प्रतिक्रिया