काठमाडौँ, १३ असोज । सिनामङ्गल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्लीबजार–बागबजार सडक दुई वर्षदेखि फराकिलो बनाउने काम सुरु भए पनि सम्पन्न हुन नसक्दा स्थानीय र यात्रु पीडा भोग्न बाध्य भएका छन् ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको चौडाइ फराकिलो पार्न नक्साङ्कन गर्ने, काठमाडौँ महानगरपालिकाले त्यसमा बनेका संरचना भत्काउने काम सकेपनि निर्माणको काम अलपत्र हुँदा यात्रु मर्कामा परेका हुन् । सडक फराकिलो बनाउन भत्काइएका संरचना पन्छाएर काम सिध्याउन सडक विभागअन्तर्गतको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ढिलाइ गरेकाले अलपत्र भएको स्थानीयवासीको गुनासो छ ।
मैतीदेवीका स्थानीयवासी नारायण शर्मा घिमिरे दुई वर्षअघिदेखि बनाउन सुरु गरिएको सडक अलपत्र हुँदा आवतजावतमा समस्या भएको गुनासो गर्नुहुन्छ । “बढाउन खोजिएको सडक अलपत्र भएपछि हिउँदमा धुलो र वर्षामा हिलोले निस्कन नसकिने भएको छ, राजधानीको मुटुको सडक निर्माणको अवस्था त यो छ भने दूरदराजमा निर्माणको अवस्था के होला भनी सहजै अनुमान गर्न सकिन्छ” – उहाँले भन्नुभयो ।
सडकको अवस्थाका कारण यो रुटबाट सवारी साधन सञ्चालन गर्नसमेत कठिन भएको सवारी चालकहरुको गुनासो छ । सफा टेम्पो चलाएर जीविकोपार्जन गर्दै आउनुभएकी सीमा लामा यो बाटो बन्दप्रायः हुँदा काम गरेर खान समस्या भएको बताउनुहुन्छ । अहिले विभागले माटोमिश्रित गिट्टी हालेर सडकलाई हिलाम्य बनाएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।
आयोजना प्रमुख मनोज श्रेष्ठ विभिन्न निकायको समन्वयमा काम गर्नुपर्ने भएकाले ढिलाइ भएको स्वीकार्नुहुन्छ । “ढुङ्गा, गिट्टी र बालुवाको अभाव, वैशाखको भूकम्पले गर्दा पनि काम समयमा सक्न बाधा पु¥यायो, यी व्यवधानका कारण करिब चार किमी सडक समयमा नसक्दा समस्या भएको छ” – उहाँले भन्नुभयो ।
अब छिटो काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया