काठमाडौँ, १२ असोज । भारत भ्रमणमा रहनुभएका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले नेपाल–भारत सीमा क्षेत्रमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति अन्त्यका लागि आफ्ना भारतीय समकक्षी आग्रह गर्नुभएको छ ।
दक्षिण एसियाली आर्थिक सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री थापाले आफ्ना समकक्षी निर्मला सीतारामलाई आपूर्ति व्यवस्थामा देखिएको समस्याका कारण दैनिक उपभोग्य वस्तुको अभाव भएको र नेपालमा नकारात्मक प्रभाव परेको भन्दै तत्काल सहज वातावरण बनाउन आग्रह गर्नुभएको हो ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार मन्त्री थापाको आग्रहलाई भारतीय वाणिज्य मन्त्रीले सकारात्मक रुपमा लिनुभएको छ । सम्मेलनमा सहभागी हुने क्रममा भएको अनौपचारिक छलफलमा भारतीय मन्त्रीले समस्या समाधान गर्न सकारात्मक प्रयास गर्ने बताउनुभएको उल्लेख छ ।
भारतीय समकक्षीसँग मन्त्री थापाले बुधबार औपचारिक संवाद गर्नुहुने बताइएको छ ।
यस्तै नेपाली दूतावासले उच्चस्तरीय भेटघाटको आवश्यक तयारी गरिहेको छ । सोमबार मात्रै मन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभई सीमा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो । रासस















प्रतिक्रिया