
भैरहवा, १२ असोज । भैरहवाको बेलहिया–सुनौली नाकामा बन्दकर्ता र प्रतिकारमा उत्रिएका स्थानीयबीच झडप भएको छ ।
नाकामा बसेर आवतजावत ठप्प पारेपछि बन्दबाट आजित भएका स्थानीयबासीले प्रतिकार गर्न खोज्दा प्रदर्शनकारीसँग झडप भएको हो । झडपपछि सीमा ठप्प पार्ने आन्दोलनको नेतृत्व गरिरहेका महेन्द्र यादव, सन्तोष पाण्डे, अमप्रकाश यादवसहित मधेसी मोर्चाका नेता कार्यकर्ता भारत पसेका छन् ।
स्थानीय प्रतिकारपछि दशगजाबाट भाग्दै भारतीय भूमितर्फ पसेका आन्दोलनकारीहरुले नेपालतिर ढुंगामुढा गरेका थिए । सो नाकामा अवरोध खुलाउन स्थानीयले बिहानदेखि नै सीमामा प्रतिकार गरिरहेका छन् । यसअघि सोमबार स्थानीयकै प्रतिकारपछि भैरहवा नाका खुलेको थियो ।
अहिले बेलहियाको स्थिती समान्य रहेको छ । ढुगांमुढा प्रहारको गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा रुपन्देही केरवानी ९ का ३२ वर्षीय अकाश भन्ने मोहम्मद हसान रज्जाक र पोखरभिण्डी १ का ५० वर्षीय योगन्द्र चौधरी रहेका छन् ।
फोटोहरुः कमल रायमाझीबाट















प्रतिक्रिया