१० कार्तिक २०८३, मंगलबार

विचल्लीमा परेका तीन बालिकाको उद्धार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १२ असोज । आमाको हत्या गरेर बाबु जेल परेपछि अभिभावक विहीन भएर विचल्लीमा परेका धनकुटाका तीन बालिकालाई एसओएस बालग्राम इटहरीले उद्धार गरेको छ ।

धनकुटा नगरपालिका–८ चाम्जिबुङका रस्तबहादुर राईले १५ दिने सुत्केरी श्रीमती ३२ वर्षीया शान्ति राईलाई गत भदौ ३१ गते राति कुटपिट गरी वीभत्स तरिकाले हत्या गरेको थियो ।

आमाको हत्या गरेर फरार भएका बाबुलाई प्रहरीले पक्राउ गरेपछि अभिभावक विहीन भएका १० वर्षीया छोरी रितुसहित उनकी एक वर्षे र २५ दिनकी दुई बहिनीको विचल्ली भएको थियो ।

जिल्ला बाल कल्याण समितिको पहलमा विचल्लीमा परेका बालिकालाई सोमबार एक कार्यक्रमको आयोजना गरी सञ्चारकर्मीलगायत अधिकारकर्मीको रोहवरमा इटहरीस्थित एससोएस बालग्रामलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले विचल्लीमा परेका बालिकालाई उद्धार गरिएका भन्दै एसओएस बालग्रामलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सो अवसरमा बालग्राम इटहरीका निर्देशक गोविन्द मास्केले बालबालिकालाई आफ्नै घरजस्तो वातावरणमा पालनपोषण र शिक्षा प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रम महिला तथा बालबालिका कार्यालयका अधिकृत गीता न्यौपानेको सभापतित्वमा भएको थियो । रासस