– एनपी प्रधान (भरत)
साउदी अरब, ११ असोज । सवारी दुर्घटनामा परि ज्यान गुमाएका धनकुटा बुधबारेका पूर्ण बहादुर श्रेष्ठको शव ९ महिनादेखि साउदी अरबमा अलपत्र परेको छ ।
पाउनुपर्ने तलब, क्षतिपूर्ति तथा शव पठाउने खर्चका बिषयमा रोजगारदाता कम्पनीसँग कुरा मिल्न नसक्दा श्रेष्ठको शब पठाउन ढिलाई भएको बताईएको छ । ९ महिनादेखि श्रेष्ठकोसाउदी अरबको शव गृहमा राखिएको छ ।
रोजगारीका लागि मेनपावर कम्पनीमार्फत् ४ बर्ष अघि साउदी आएका श्रेष्ठको सवारी दुर्घटनामा परि गत डिसेम्बरमा मृत्यु भएको थियो । बिदाको दिनमा साथीहरुसँग बाहिर गएको समयमासवारी दुर्घटनामा परि श्रेष्ठको मृत्यु भएको थियो । उनी साउदीस्थित क्याट्को कम्पनीमा कार्यरत थिए । दुर्घटनामा परेको सवारी साधन रोजगारदाता कम्पनीको नभएको कारण देखाउँदै रोजगारदाता कम्पनीले क्षतिपूर्ति दिन तथा शव पठाउने खर्च दिन आनाकानी गर्दै आएकाले शव पठाउन ढिलाई भएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ ।
श्रीमानको मृत्यु भएको खबर पाएर पनि लामो समय सम्म शव झिकाउन नसक्दा श्रेष्ठका परिवार पिडै पीडाले भावबिह्वल भएका छन् । दूतावासले बेवास्ता गरेकै कारण आफ्नो श्रीमानको शव नेपाल ल्याउन ढिलाई भएको श्रेष्ठका श्रीमती देबी श्रेष्ठले बताइन् ।
मृत्यु भएको ९ महिना बढी भईसक्दा सम्म पनि आफ्नो श्रीमानको शव स्वदेश ल्याउने पहल कतैबाट हुन नसकेको भन्दै सहयोगको याचना समेत गरेकी छिन् । ‘दुर्घटनामा परि श्रीमानको मृत्यु भएको खबर सुनेपछि शव आउला नि भन्दै दिन गनेर बस्यौं, तर दिन गन्दागन्दै बर्ष दिन बित्न थालिसक्यो आजसम्म श्रीमानको शव झिकाउने कहीकतै बाट पहल भएको छैन’, पीडित श्रेष्ठले भनिन्– ‘म दुखीको हार गुहार कसैले पनि सुनिदिएन । उहाँ त रहनुभएन, अन्तिममा एकपटक उहाँको मुहार हेर्न पाए पनि चित्त बुझाउन हुन्थ्यो ।’
आफ्ना श्रीमानको शव घर पठाईदिन साउदीस्थित नेपाली दूतावासमा पटक पटक सम्पर्क गरेपनि सुनुवाई नभएको भन्दै उनले भनिन्– ‘उहाँहरु छिट्टै पठाउँछौ भन्नुहुन्छ तर पठाउनुहुन्न । हामी दुःखी गरिबलाई दुःख माथि दुःख परेको छ तर हाम्रो पिडा बुझिदिने कोहीभएन ।’
श्रेष्ठको मृत्युको खबर पाएपछि शव पठाउनका लागि नेपाली दूतावाससंग पहल गरिएको भएपनि शव पठाउन नसकिएको एनआरएन साउदीका पूर्वी क्षेत्रीय उपाध्यक्ष ढल बहादुर थापाले बताए । थापाका अनुसार श्रेष्ठको शब स्वदेश पठाउनका लागी पहल गरिएको भएपनि कानुनी प्रक्रिया पुरा हुन नसक्दा ढिलाई भएको हो ।
यता रोजगारदाता कम्पनीसँग मुद्दा नमिलेका कारण शव पठाउन ढिलाई भएको साउदीस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले बताए । ‘हामीले शव पठाउन पहलगरिरहेका छौं, लेवरकोर्टमा मुद्दा चल्दा श्रेष्ठको पक्षमा फैसला भएको हो, तर कम्पनीका सञ्चालक नै फरार हुँदा श्रेष्ठको शव पठाउन ढिलाई भएको हो’ उनले भने ।
श्रेष्ठको शव पठाउन भएको ढिलाईको बिषयमा नेपालस्थित परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगार बिभागलाई जानकारी गराईसकिएकोले शव पठाउने खर्चको ब्यबस्थापन हुने बित्तिक्कै जतिसक्दो छिटो श्रेष्ठको शब स्वदेश पठाईने उनले बताए । मुद्दा नमिल्दै शव पठाईएपनि रोजगारदाता कम्पनीमाथि कारवाही अगाडी बढाईने साउदी सरकारले आश्वासन दिएकोले शव पठाउन लागिएको शर्माको भनाई छ ।















प्रतिक्रिया