
धनगढी, १० असोज । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आइतबार धनगढीमा भारतीय हस्तक्षेपविरुद्ध हस्ताक्षर संकलन गरेको छ ।
नेपालको हालै जारी संविधानप्रति असन्तुष्टी जनाउदै भारतले नेपालमाथि विभिन्न किसिमका हस्तक्षेप गरेको भन्दै युवा संघ नेपाल धनगढी नगरकमिटीले हस्तक्षेप विरुद्धको हस्ताक्षर कार्यक्रम गरेको जनाएको छ ।
युवा संघ नगर अध्यक्ष विश्वास शाहले भारतीय हस्तक्षेप विरुद्ध थालिएको हस्ताक्षर अभियानमा आठ सय बढीले हस्ताक्षर गरेको र हस्ताक्षर जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत गृहमन्त्रालयलाई बुझाइने बताए । युवा संघका नेता तथा कार्यकर्ताहरूले भारतीय हस्तक्षेप विरुद्धका प्ले कार्ड बोकेका थिए ।
कार्यक्रममा युवा संघका सेती अञ्चल सचिव दीपक सिंह ‘विरेन्द्र’, केन्द्रीय लेखा कमिटी सदस्य बाबुराजा श्रेष्ठ लगायतले बोलेका थिए । सचिव सिंहले संविधान सभाबाट ९१ प्रतिशतले पारित भई जारी भएको संविधानको भारतले उपेक्षा गरी अघोषीतरुपमा नेपालमा नाकाबन्दी लगाएकोले त्यसको विरुद्धमा हस्ताक्षर अभियान थालिएको बताए । हस्ताक्षर अभियानमा राष्ट्रिय गीत बजाएर राष्ट्र भक्तिको सन्देश पनि दिइएको थियो ।

















प्रतिक्रिया