
सप्तरी, १० असोज । आज प्रहरीले स्कर्टिङ्को क्रममा प्रदर्शनकारीले सवारी साधनमाथि ढुङ्गामुढा र तोडफोड गरेकोे भन्दै तीनजनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका–५ बस्ने १८ वर्षीया अमरकुमार ठाकुर, मधुवापुर–३ बस्ने २२ वर्षीय अनिलकुमार दास र हरिहरपुर–७ बस्ने सत्रुधन चौधरी रहेको इलाका प्रहरी कार्यालय भारदहले जानकारी दिएको छ ।
पक्राउ परेका तीनैजनालाई आज पूर्व–पश्चिम राजमार्गमा सवारी साधनमाथि भएको ढुङ्गामुढा र तोड्फोडको विषयमा सोधपुछको लागि नियन्त्रणमा लिएको जिप्रका सप्तरीले जनाएको छ ।
नयाँ संविधान र सीमाङकनको विरोधमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा प्रहरीले स्कर्टिङ् गरी लाँदैगरेका ७० भन्दाबढी सवारीसाधनमा तोडफोड र ढुङ्गामुढा गरेका थिए ।
प्रदर्शनकारीले ढुङ्गामुढा गर्दा तीनजना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका ड्र्राइभर झापाको काँकडभिटृा–९ बस्ने ३६ वर्षीय पदमबहादुर राई, मकवानपुरका २५ वर्षीय रामकुमार लौचन र सप्तकोशी ब्यारेजबाट सप्तरीको बलुवामा कमोर लिएर बोलबम जाँदै गरेको जिल्लाकै गम्हरीया प्रभाह–१ निवासी गौतमकुमार यादव घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको टाउको र छातीमा गम्भिर चोट लागेका मध्ये एकको धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र दुई जनाको विराटनगरको न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीले आज बिहान करिव एक सय साना ठूला गरी सवारी साधनमा तोडफोड गर्नुका साथै ढुङ्गामुढा बर्षाएका थिए । रासस















प्रतिक्रिया