१० कार्तिक २०८३, मंगलबार

राष्ट्रपतिद्वारा गणेश, भैरव र कुमारीको दर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Baran-Yadavकाठमाडौँ, १० असोज । इन्द्रजात्राका अवसरमा आज वसन्तपुरमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवले गणेश, भैरव र कुमारीको दर्शन गर्नुभयो ।

राष्ट्रपतिले दर्शन गरी दक्षिणा चढाएपछि तीनै देवताको रथ वसन्तपुर र हनुमानढोका क्षेत्रका विभिन्न स्थानमा घुमाउने प्रचलन छ । यस अवसरमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखको वसन्तपुर डबलीमा उपस्थिति रहेको थियो ।

राजदरबार नारायणहिटीमा सरेपछिदेखि राष्ट्राध्यक्ष, प्रधानमन्त्रीलगायत उपस्थित भएर बस्ने गरेको दरबार यस वर्ष भूकम्पले भत्किएपछि वसन्तपुर डबलीमा टेन्ट टाँगेर विशिष्ट व्यक्तित्वलाई राखिएको इन्द्रजात्रा मूल व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिनुभयो ।

जात्रामा विभिन्न वेशभूषामा सजिएका व्यक्तित्वले नाचगान गरी नाच प्रदर्शन गरेका छन् । बाजागाजा र लाखे नाचलगायतका मौलिक संस्कृतिको प्रदर्शन हेर्न उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटकको समेत उपस्थिति थियो । उपत्यकावासी जात्रा हेर्न आउने कारणले प्राचीनकालदेखि नै यस दिन सरकारी बिदा दिँदै आएको समितिले जनाएको छ ।

काठमाडाँै उपत्यकाका नेवार समुदायले प्राचीनकालदेखि वर्षा र सहकालका देवता इन्द्र्रको पूजा आराधना गरी इन्द्रजात्रा मनाउँदै आएका छन् । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र्रध्वजासहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइने संस्कृतिविद् हरिराम जोशीले जानकारी गराउनुभयो ।

प्राचीन किंवदन्तीअनुसार आफ्नी आमालाई वसुन्धराको व्रतनिम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई उपत्यकावासीले चोर भनी नियन्त्रणमा लिएर डोरीले पाताकसी बीच सडकमै जात्रा गरेको दिनका रूपमा इन्द्र्रजात्रा मनाउने गरिन्छ ।

बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा पुरन्दर हात्तीमा आएर कुइरो सिर्जना गरी लुकाएर काठमाडौँको दहचोकस्थित इन्द्र्रदहमा लगी स्नान गराएको किंवदन्ती रहेको संस्कृतिविद् जोशीले बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार लिच्छवीकालदेखि मनाइँदै आएको यो जात्रामा तान्त्रिक विधिद्वारा पूजा गरिन्छ ।

इन्द्र्र्रजात्राका लागि इन्द्र्रध्वज स्थापनाका लागि काटिने लिङ्गोदेखि उक्त लिङ्गो उपत्यकाभित्र प्रवेश गराउने, लिङ्गो ठड्याउने र लिङ्गो ढाल्ने कार्यका लागि साइत जुराउने प्रचलन रही आएको पनि उहाँले जानकारी दिनुभयो ।

आजैका दिन काठमाडौँ पश्चिमभेगस्थित दहचोकको इन्द्र्रदहमा रातभर जाग्राम बसी भोलि पूर्णिमाका दिन स्नान गर्ने प्रचलन रही आएको छ । इन्द्र्रदह स्नान मेलामा सहभागी हुन काठमाडौँ, ललितपुर, भक्तपुरका साथै उपत्यका बाहिरबाट पनि दर्शनार्थी आउने गर्छन् । रासस