१ कार्तिक २०८३, शनिबार

खानेपानीको समस्याले व्यवसायी पलायन हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baitadi_districtबैतडी, ९ असोज । निर्माण भएको एक वर्षमै खानेपानी आयोजना बिग्रिएपछि यहाँको मुख्य व्यापारिक केन्द्र सतबाजमा खानेपानीको समस्या भएको छ । पानी नहुँदा स्थानीय व्यवसायी पलायन हुन थालेका छन् ।

बैतडी र दार्चुलाका दर्जनौँ सवारीसाधन र सयौँ यात्रु आवतजावत हुने प्रवेशद्वारामा खानेपानी समस्याले स्थानीय व्यवसायी र सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

योजना बनेको वर्ष दिनमै बिग्रिएपछि १५ होटल र त्यत्तिकै सङ्ख्यामा व्यापारीसहित १०० परिवारलाई समस्या भएको व्यवसायीले बताएका छन् । उनीहरु चर्को मूल्य तिरेर गाडी र भरियाबाट पानी बोक्न बाध्य छन् ।

पानीको चर्को मूल्य तिरेर व्यवसाय सञ्चालनमा कठिनाइ भएको होटल व्यवसायीको भनाइ छ । “खानेपानीकै समस्याले केहीले होटल बन्द गरेका छन् ।” स्थानीय होटल व्यवसायी शङ्कर विष्टले भन्नुभयो “एक लिटर पानीको करिब दुई पर्छ, पानीकै समस्याले विस्थापित हुने अवस्था छ ।”

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा सामुदायिक खानेपानी आयोजनाले करिब ३० लाखमा सतबाज–वासुलिङ खानेपानी आयोजना बनाएको थियो । पानीको सास्ती खेप्न बाध्य वासुलिङका सतवाज, स्यागैर, सिउडेमा ११ धारा जडान गरिएका थिए ।

जिल्लामै पहिलो पटक २५ केभी क्षमताको मोटर राखेर पम्पिङ प्रणालीबाट ८०० मिटर तल कटमोली खोलाको पानी तानेको हो ।

“नयाँ मोटर किन्न तीन लाख ५० हजार खर्च हुन्छ ।” उपभोक्ता समितिका पूर्व अध्यक्ष जयबहादुर भन्नुभयोे, “आर्थिक स्रोत नहुँदा समस्यामा परेका छौँ ।”

पानी अभावमा यात्रु पनि उत्तिकै सास्ती खेप्दै आएका छन् । पिउनसम्म पानी अभाव हुन थालेपछि होटल व्यवसायीले ग्राहक राख्न पनि छाडेका छन् । रासस