तिलोत्तमा (रूपन्देही), ८ असोज । रुपन्देहीमा पछिल्लो समय सुनचाँदीका गहना बनाउने कालिगढ पुरुषमात्र नभएर महिला पनि थुप्रै भेटिन थालेका छन् ।
कुनै बेला सुनचाँदीका गहना बनाउने कालिगढ पुरुषमात्रै भेटिन्थे । तर, अहिले गहना बनाउने महिला कालिगढ बुटवलका विभिन्न सुनचाँदी पसलमा भेटाउन सकिन्छ ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घ बुटवल शाखाले गहना बनाउने तालिम प्रदान गरेपछि महिला कालिगढ वृद्धि भएका हुन् । नेपाल सुनचाँदी व्यवसायी सङ्घ बुटवल नगर सचिव गोकुल विकका अनुसार बुटवलमा गहना बनाएरै जीविकोपार्जन गर्ने महिलाको सङ्ख्या धेरै रहेको छ ।
सङ्घले महिलालाई लक्षित गरेर तालिम प्रदान गरेपछि उनीहरुको सङ्ख्यामा वृद्धि भएको हो । दुई वर्षअघिसम्म गहना बनाउने त के सोच्नसम्म नसक्ने महिला सीप सिकेर गहना बनाउन सकेकामा दङ्ग परेका छन् ।
जिल्लाको बाँसगढीकी कृष्णकुमारी विक भन्नुहुन्छ – “गहना बनाउन सक्छु भन्ने विश्वास नै थिएन, तर अहिले यही कामबाट घरखर्च चलेको छ ।” अहिले उहाँले मासिक रु १२ हजारसम्म आम्दानी गर्नुहुन्छ । “अहिले मैले पढाइ खर्च पनि गहना बनाएरै जुटाएको छु” विकले भन्नुभयो ।
उहाँ कृष्ण सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत हुनुहुन्छ । “बिहान क्याम्पस पढ्छु दिनभरि गहना बनाउँछु” उहाँले इच्छाशक्ति हुने हो भने महिलाले जस्तोसुकै काम पनि गर्न सक्ने बताउनुभयो ।
तालिम लिएपछि कृष्णकुमारी मात्रै होइन अन्य महिला पनि आत्मनिर्भर भएका छन् । बुटवल लक्ष्मीनगरकी शान्ता बराल पनि सुनचाँदीका गहना बनाएर मासिक रु १० हजारसम्म आम्दानी गर्ने गरेको बताउहुन्छ । “अहिले छोराछारी पढाउन सहयोग पुगेको छ” उहाँले भन्नुभयो ।
आफूहरुले गहना बनाउन सक्षम भए पनि पुरुषलाई जतिको काम भने नपाउने महिलाको गुनासो छ । बुटवल दीपनगरकी छुमदेवी विश्वकर्माले सीप जाने पनि अझै पनि पुरुषले विश्वास नगर्दा काम निकै कम पाइएको बताउनुभयो ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घले महिलालाई गहना बनाउने सामग्री उपलब्ध गराएको थियो । उनीहरु दिनभरि सुनचाँदी व्यवसायीको हलमा काम गर्ने गरेको सङ्घका बुटवल शाखाका अध्यक्ष दीपक विश्वकर्माले बताउनुभयो ।
जिल्लामा ५०० भन्दा धेरै सुनचाँदी पसल रहे पनि स्वदेशी कालिगढ ४० प्रतिशत मात्रै छन् । विदेशी कालिगढको चाप कम गर्न र महिलालाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । रासस















प्रतिक्रिया