
रौतहट, ८ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हडताल र बन्दका कारण प्रभावित बन्न पुगेको यहाँको जनजीवन विस्तारै सहज बन्दै गएको छ ।
बन्द र हडतालबाट आजित बन्न पुगेका सर्वसाधारणले अब चुप लागेर बस्न हुँदैन भन्दै धमाधम पसल व्यवसाय सुरु गर्न थालेका छन् । जिल्ला सदरमुकाम गौरमा उत्पन्न असहज परिस्थितिलाई लिएर गत भदौ ८ गते लागू गरिएको दङ्गाग्रस्त क्षेत्र अझै कायम रहेको छ ।
एक महिनाभन्दा बढी समय अवधिका लागि दङ्गाग्रस्त क्षेत्र कायम राख्न गृह मन्त्रालयको पूर्व स्वीकृति आवश्यक पर्ने भएकाले माथिल्लो निकायमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताउनुभयो ।
जिल्ला सुरक्षा समितिको बैठकले गत भदौ ८ गतेबाट लागू हुनेगरी गौर नगरपालिका तथा गौर–चन्द्रनिगाहपुर सडकखण्डको दायाँबायाँ १–१ किमि सडकलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आफ्ना विभिन्न मागलाई लिएर सरकारी कार्यालय तोडफोड गर्ने तथा सरकारी कार्यालयमा गई मधेस सरकार लेख्नेजस्ता कार्य गर्न थालेपछि गत भदौ ७ गते गौरमा निषेधाज्ञा जारी गरिएको थियो भने त्यसपछिका दिनमा दङ्गाग्रस्त क्षेत्र कायमै रहेको छ ।
निरन्तरको बन्द तथा भेला, जुलुस, प्रदर्शनका कारण प्रभावित बन्न पुगेको गौरमा फाट्टफुट्ट पसल खुलेका छन् भने ग्रामीण भेगमा पूर्ववत रुपमा व्यापार व्यवसाय सञ्चालन हुन थालेका छन् । दङ्गाग्रस्त क्षेत्र घोषणापश्चात् सुरक्षाकर्मी तथा प्रदर्शनकारीले संयमता अपनाएका कारण गौरको जनजीवन, क्रमिक रुपमा सुधारोन्मुख अवस्थामा रहेको छ ।
जिल्लाको अवस्था सुधारोन्मुख भए तापनि यातायात सेवा अझै सञ्चालन नभएका कारण दङ्गाग्रस्त क्षेत्र कम गर्दै लाने या यथावत् राख्ने भन्ने सम्बन्धमा गृह मन्त्रालयको आदेशपछि निर्णय गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । रासस















प्रतिक्रिया