१० कार्तिक २०८३, मंगलबार

स्वीस पूर्वमोडलले ट्रम्पमाथि लगाइन् जबर्जस्ती करणीको आरोप, घटना ३३ वर्ष पहिलेको

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा तानिएका छन् ।

डेमोक्रेटिक पार्टीले ट्रम्पविरुद्ध यौन दुराचारका गम्भीर आरोपहरू समेटिएको एक रिपोर्ट सार्वजनिक गरेको हो ।

रिपोर्टका अनुसार स्विट्जरल्याण्डकी पूर्वमोडल बिट्रिस केउलले ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी छिन् ।

पूर्व मिस स्विट्जरल्याण्ड समेत रहेकी उनले सन् १९९३ नोभेम्बरमा न्यूयोर्कको प्लाजा होटलमा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।

केउलका अनुसार उक्त घटनामा उनको लुगाहरू च्यातिएको थियो र शरीरका विभिन्न भागमा चोटपटक लागेको र कोतरिएर दागहरू पनि बसेको थियो ।

एक अन्तर्वार्तामा केउलले उक्त घटना अत्यन्तै क्रूर भएको बताएकी छिन् ।

केउलका अनुसार, उनी सन् १९९३ मा अमेरिकन ड्रिम प्रतियोगितामा भाग लिन त्यहाँ गएकी थिइन् । प्रतियोगिता ट्रम्पसँगको साझेदारीमा आयोजना गरिएको थियो ।

कार्यक्रमका दौरान उनले प्लाजा होटलमा पत्रकारहरूसँगको दिवाभोजमा ट्रम्पलाई भटेकी थिइन् ।

केउलका अनुसार, त्यसपछि ट्रम्पका एक सहयोगीले उनलाई होटलको कोठामा भेट्न भनेका थिए । उनले त्यहाँ कुराकानी हुने अपेक्षा गरेकी थिइन्, तर ट्रम्पले कोठाभित्र पस्नेबित्तिकै समाते र जबर्जस्ती गरेको केउलको आरोप छ ।

केउलको आरोप छ कि घटनापछि ट्रम्पले उनलाई चुपचाप बस्न भनेका थिए । उनले केउललाई अमेरिकी भिसा प्राप्त गर्न र न्यूयोर्क विश्वविद्यालयमा भर्ना पाउन मद्दत गर्ने बाचा पनि गरेका थिए ।

केउलका अनुसार, त्यसपछि उनको पासपोर्ट खोसिएको थियो, सोही कारणले गर्दा उक्त घटनापछि उनी प्रतियोगितास्थलबाट बाहिरिन सकिनन् ।

स्वीट्जरल्यान्ड फर्किएपछि केउलले केही हप्तापछि ट्रम्पद्वारा प्रायोजित अर्को प्रतियोगितामा भाग लिन अस्वीकार गरेको उनको भनाइ छ ।

यसैबीच, ह्वाइट हाउसले रिपोर्टमा लगाइएका सबै आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।

ह्वाइट हाउसका एक प्रतिनिधिले बताएअनुसार, यसको उद्देश्य अमेरिकी जनताको ध्यान राष्ट्रपति ट्रम्पका ऐतिहासिक उपलब्धिहरू र रिपब्लिकन पार्टीको बढ्दो लोकप्रियतालाई अन्यत्र मोड्नु हो । एजेन्सी