महेन्द्रनगर, ८ असोज । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरका संयुक्त विद्यार्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय झण्डा जलाएका छन् ।
शुक्रबार बिहान ११ः३ बजेतिर यहाँका विभिन्न ६ विद्यार्थी संगठनहरुले पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमा बिरोध स्वरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनका साथै झण्डा समेत जलाएका हुन् ।
काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारी, वैद्य÷विप्लव निकट क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंले नेपालको स्वाभिमानमा भारतले पटक पटक हस्तक्षेप गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
सिद्धनाथ बहुमुखी क्याम्पसबाट नेपाली झण्डा सहित ¥याली निकालेर नारा जुलुस गर्दैै सीमा क्षेत्र गड्डाचौकीसम्म पुगेर कोणसभामा परिणत भएको अखिल क्रान्तिकारीका नेता विरेन्द्रराज विष्टले बताए । कोणसभामा बोल्ने नेताहरुले नेपालको आन्तरिक मामिलामा जथाभावी नबोल्न समेत आग्रह गरेका छन् ।
छिमेकी भएर छिमेको जस्तो व्यवहार गर्न समेत विद्यार्थी नेताहरुले आग्रह गरेका छन् । विद्यार्थी नेताहरुले भारतलाई नाकाबन्दी गर्न चुनौति समेत दिएका छन् । कोणसभामा विप्लव क्रान्तिकारीका केन्द्रीय सदस्य विपी उपाध्ययले भारतले नेपालमा गिद्दे दृष्टिकोण राखेका कारण पटक पटक नेपालको राष्ट्रियतामा धावा बोलेको बताए ।
अखिल छैटौंका अध्यक्ष महेश जोशीले भारतीय हस्तक्षेप अघि बढे नेपालीहरु त्यसको सामना गर्न तयार रहेको चेतावनी दिए । वैद्य क्रान्तिकारीका अध्यक्ष राम महराले आफ्नो मातृभूमिको रक्षा गर्न नेपालीहरु तयार भएको उद्घोष गरे । नेवि संघका अध्यक्ष गंगा भट्टले भारतले नाकाबन्दी गरेर नेपाललाई जिस्क्याउने खोजेको आरोप लगाए । अनेरास्ववियुका अध्यक्ष ओम बस्नेतले नेपालको संविधानको विषयमा भारतले अनावश्यक बखेडा झिक्न नहुने बताए ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐरले नेपाल कसैको पनि गुलाम नहुने जिकिर गरे । आफ्नो देशको राष्ट्रियताका लागि नेपालीहरु टाउकोमा कफ्न बाँधेर युद्ध लडन तयार रहेको उनको भनाई थियो । नेपाली राष्ट्रियता झण्डासहित सीमा पुगेका विद्यार्थी नेताहरुले नेपालको लागि जस्तोसुकै त्याग गर्न तयार भएको उद्घोष गर्दै फर्केका छन् ।


















प्रतिक्रिया