– मोहम्मद हबिब
भैरहवा, ८ असोज । मुस्लिम धर्माबलम्बीहरुले दोस्रो महान पर्व इद– उल– अजहा (बकरा ईद) आज धुमधामका साथ मनाइरहेका छन ।
तिन दिन सम्म मनाइने यो पर्व इस्लामिक क्यालेन्डर ‘हिजरी सम्वत्’ अनुसार बार्हौ महिना जिलहिज्जा को १० तारिखमा हरेक वर्ष मनाइन्छ । यो पर्वमा बिहानै नुहाइधुवाइ सुकिला, सफा नयाँ कपडाका लगाउने र स्थानीय ठाउँमा नमाज पढ्न बनाइएको विशेषस्थल इदगाह वा मस्जिदमा जम्मा भई नमाज पढछन्,नमाजपछि एकआपसमा अंगालो (गला) मिलाएर शुभकामना आदानप्रदान गर्छन् ।
पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व इदलुफित्र (इद) पर्वको ठिक ७० दिन पछि तिन दिन सम्म मनाइन्छ । पहिलो दिन, बिहान इदगाहमा भेला भएर नमाज पढिसकेपछि तिन दिन सम्मै चौपाया जनावरहरुको कुर्बानी (बली) दिने गरिन्छ ।
मुस्लिमहरुले खान योग्य मानिने चौपाया जनावरहरु खसी, राँगा, भेंडा, उँट, दुम्बा ,बाँझो बाख्रा आदि कुर्बानीका लागि उपयुक्त मानिन्छ‘ आ(आफ्ना हैसियत अनुसारका हुनेहरुले जति पनि कुर्बानी दिन पाउने मुस्लीम अगुवाहरुले वताएका छन् ।
कुर्बानीका लागि उपयुक्त मानिने जनावर दुरुस्त तथा स्वस्थ्य हुनुपर्छ बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको र पुच्छर काटेको हुनुहुदैन । ठूला जनावरमा ३, ५ वा ७ सातजना मिलेर तथा साना जनावरमा एकजनाको नाममा कुर्बानी दिनुपर्ने हुन्छ । कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ । एक भाग घर परिवार, अर्को आफन्तइष्टमित्र र तेस्रो भाग गरिब एंव असक्षम मानिसका लागि छुट्याउनुपर्छ । यो पर्वमा कुनै पनि मुस्लिम मासु खानबाट बन्चित नरहोस भन्ने मान्यता रहेको छ । कुर्बानीको मासु तराजुमा तौलन र बिक्री गर्न मिल्दैन । कुर्बानी भएको जनावरको छाला मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । यो नियम सबै मुस्लिमले पालना गर्नुपर्ने हुन्छ ।
भैरहवाक्षेत्रका मुस्लिमहरु स्थानीय गल्लामण्डी र बसडीलियामा रहेको इदगाहमा शुक्रबार विहान साढे ७ बजे जम्मा भएर समुहिक नमाज पढ्ने मदरसा दारुल उलुम कठौतियाका प्रधानाध्यापक मौलाना सुफी सिद्दिक खा ले जानकारी दिनुभयो ।
नेपाल विभिन्न धर्म र जातजातिको फूलबारी हो । हिन्दु, बौद्धपछि तेस्रो स्थानमा इस्लाम धर्म मान्ने समुदायहरूको बसोबास छ। २०६८ को जनगणनाअनुसार नेपालमा ११ लाख ६४ हजार २ सय ५५ मुस्लिम छन् । ७५ वटै जिल्लामा उनीहरूको बसोबास रहेको छ। सबै धर्मका आ–आफ्नै चाड, पर्व, संस्कृति र परम्पराहरू छन् । मुस्लिमहरूले पनि वर्षमा दुईपटक महान् पर्व इद–उलफित्र र इद–उलअजहा (बकर इद) मनाउँछन्। मुसलमानका सबै पर्व हिजरी सम्वत्’ अनुसार नै निर्धारण गरिएका हुन्छन्।
नेपाल लगायत बिश्वका बिभिन्न देशबाट साउदीको मक्का मदिना सरिफमा हज गर्न पुगेका लाखौं मुस्लीमहरु बक्रइदको सामुहिक नमाज पढि त्यही कुर्बानी दिने चंलन छ । बकरिद पर्वको अवसरमा आज शुक्रबार सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।













प्रतिक्रिया