
काठमाडौँ, ८ असोज । व्यवस्थापिका–संसदका सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट संविधान बनेसँगै २००७ सालदेखिको नेपाली जनताको चाहना र भावनाले मूर्त रुप लिएको बताउनुभएको छ ।
नेपालका ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आज यहाँ आयोजना गरेको २०औँ सम्मेलनमा सभामुख नेम्वाङले पहिलो पटक संविधानसभाबाट बनेको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशी लोकतन्त्र, धर्म निरपेक्षतालाई संस्थागत गरेको उल्लेख गर्नुभयो ।
भूकम्पपछि पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश फैलाउने उद्देश्यले नाट्टाले आयोजना गरेको सम्मेलनमा सभामुख नेम्वाङले नयाँ संविधानले पर्यटनलगायत सबै क्षेत्रलाई अघि बढ्ने प्रसस्त आधार प्रदान गरेको बताउनुभयो ।
उहाँले ८९ प्रतिशत सभासद् उपस्थित भएर ८५ प्रतिशत सभासद्ले मतदान गरी जारी भएको संविधानमा सबै जातजाति, धर्म, समुदायको सहभागिता रहनुका साथै उनीहरुको हकअधिकारसमेत सुनिश्चित भएको जानकारी गराउनुभयो । रासस












प्रतिक्रिया