भैरहवा, ८ असोज । नेपाल भारत सीमा क्षेत्रमा हुने दशगजामा कुनैपनि राजनीतिक गतिविधी गर्न नदिने भारतीय पक्षले जनाएको छ ।
नेपालको रुपन्देही जिल्लासंग सीमा जोडिएको भैरहवा भन्सार नजिकको दशगजामा संयुक्त मधेसी मोर्चाले विरोधसभा गर्न खोजेपछि भारतीय पक्षले त्यसलाई रोक्ने बताएको हो । दशगजा क्षेत्रमा मोर्चाको नेताहरुले सम्बोधन गर्नेगरी नेपाल सरकारको विरोधमा हुने सभालाई भारतीय अधिकारीले दशगजा क्षेत्रमा गर्न कुनैपनि गतिविधी गर्न नदिने जनाएका हुन् ।
भारतीय माथिल्लो सुरक्षा रणनीति अनुसार भैरहवाको दशगजामा विरोध सभाको लागी भारतीय सुरक्षाकर्मीले रोक लगाएको भारतीय सुरक्षा अधिकारीले जनाए । सोनौली कोतवालीका प्रमुख अनिल कुमारले दशगजामा कुनैपनि राजनीतिक गतिविधी गर्न नदिइने जनाएपछि नेपालबाट गएका मोर्चाका नेताहरु निराश भई फर्केका बुझिएको छ ।

सीमा क्षेत्रका गतिविधीलाई विश्लेषण गरी समाचार लेख्ने भारतीय एकजना पत्रकारका अनुसार सीमावर्ती भारतीय सुरक्षा अधिकारीसंग दशगजामा कार्यक्रम गर्नेगरी कार्यक्रम तय गर्न गएका रुपन्देहीका मोर्चाका नेताहरु महेन्द्र यादव, अजय बर्मा सहितको टोली त्यतिकै फर्केको छ । मोर्चाका नेताहरु विहीवार सीमावर्ती सुनौली पुगेका थिए । भारत स्रोतका अनुसार उनीहरुलाई भारतीय सुरक्षाकर्मीले धम्क्याउँदै फिर्ता पठाएको थियो ।












प्रतिक्रिया