१ कार्तिक २०८३, शनिबार

लगातारको तराई बन्दले खोटाङमा ग्यास अभाव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LP-gas-cilinderखोटाङ, ८ असोज । लगातारको तराई बन्दले ढुवानी गर्न नपाउँदा खोटाङमा खाना पकाउने ग्यास अभाव भएको छ ।

डेढ महिनादेखिको तराई बन्दले ढुवानी गर्न नपाउँदा जिल्लामा सबै कम्पनीका ग्यास अभाव भएको हो । बिक्री केन्द्रमा ग्यास सकिएपछि विशेषगरी कोठा भाडामा लिएर सदरमुकाम बस्ने सर्वसाधारण मर्कामा परेका छन् । खाना पकाउने ग्यास सकिएपछि कतिपय विद्यार्थी घर फर्कन थालेका छन् ।

जिल्लामा वर्षात्का लागि भण्डारण गरिएका ग्यास सकिएपछि यस्तो समस्या आएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “लगातारको तराई बन्दले ढुवानी गर्न सकिएको छैन ।” उहाँले भन्नुभयो, “प्रशासनसँगको समन्वयमा दसँैका लागि भने, स्कटिङ गरेर ४०० सिलिन्डर ग्यास ल्याउने तयारी गरेका छौँ ।”

जिल्लामा खपत हुने ग्यास वर्षात्का लागि मात्र खरिद गरेर भण्डारण गर्ने गरिएको व्यापारीले बताएका छन् । दूधकोसी नदीमा लगाइएको अस्थायी ब्रेलिब्रिज झिक्नुअघि जिल्लामा खपत हुने सबै प्रकारका दैनिक उपभोग्यवस्तु भण्डारण गर्ने गरिएको छ ।

दूधकोसीको निर्माणाधीन पक्की पुल सञ्चालनमा नआएसम्म जिल्लामा यस्तै समस्या रहने अध्यक्ष लयालुले बताउनुभयो । “पुल बनाउन थालिएको यतिका वर्ष बित्यो ।” उहाँले भन्नुभयो, “सम्बन्धित निकायलाई पटकपटक ध्यानाकार्षण गराउँदासमेत कुनै चासो दिएको छैन, यसले गर्दा जिल्लावासीलाई ज्यादै सास्ती भएको छ ।”

जिल्लामा एक डिलर र अन्य सव डिलरमार्फत ग्यास बिक्री गर्ने गरिएको छ । जिल्लामा नोबेल, कोसी, सुविधालगायत सबै कम्पनीका ग्यास खपत हुने गरेको छ । रासस