इलाम, ८ असोज । इलामको कोल्बुङ सडकखण्डमा गएराति एउटा ट्रक शङ्कास्पदरुपमा दुर्घटना भएको छ ।
मेची राजमार्गको कोल्बुङ–१ भेढेढुङ्गा भन्ने स्थानमा राति भएको दुर्घटनाबाट कुनै मानवीय क्षति हालसम्म फेला नपरेको इलामका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
ना३ख ४३४१ नम्बरको ट्रक सडकबाट करिब ९०० मिटर तल खोल्सामा झरेको छ । यसअघि इलामकै कोल्बुङ–९ भालुझोडामा पनि रातको समयमा यसरी नै सवारीसाधन लडाइएको थियो ।
सवारीसाधन दुर्घटनाको आवाज सुनेर उद्धारका लागि स्थानीयवासी जाँदा कोही पनि मानिस नभेटिने गरेकाले नियोजित तरिकाले थोत्रा सवारी लडाएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।
बिमासम्बन्धी दाबीका लागि तथा आपसी विवादको कारण पनि नियोजित तरिकाले ट्रक लडाएको हुनसक्ने स्थानीयवासीले आशङ्का गरेका छन् । ट्रक खसेको खबर पाएपछि इलामका प्रहरी कार्यालय पशुपतिनगरको टोली त्यसतर्फ गएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो ।
दुर्घटना भएको ठाउँमा चालक तथा सहचालक नभेटिएकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया