१० कार्तिक २०८३, मंगलबार

मध्यरातमा रथ चोरेर पुल्चोक ल्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rato Machhindranathकाठमाडौँ, ८ असोज । शास्त्रीय मान्यताअनुसार बिहीबार मध्यरातमा रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको युलाखेलबाट चोरेर पुल्चोक ल्याइएको छ ।

यस वर्ष १२ वर्षको विशेष मेला परेकाले परम्पराअनुसार युलाखेलबाट रातको करिब १२ बजे रथलाई पुल्चोक ल्याइएको हो ।

सामान्यतया रथ तान्दा बाजागाजासहित विशेष किसिमको रमाइलो गरी तान्ने भएपनि बाह्रवर्षे जात्राको तेस्रो दिन सकेसम्म शान्त वातावरण र कुनै सामान चोरेको शैलीमा रथ तान्नुपर्ने धार्मिक मान्यताअुसार रथलाई मध्यरातमा युलाखेलदेखि चोरेर पुल्चोक ल्याइएको पुजारी विनोद बज्राचार्यले बताउनुभयो ।

अन्य दिन रथ तान्दा बिहान वा दिउँसोको समयमा गरिने भएपनि रथ जात्राको तेस्रो दिनमा मध्यरातको समयमा गरिने भएकाले यस जात्रालाई विशेष रुपमा लिइएको पुजारी बज्राचार्यको भनाइ छ ।

रातको समयमा नै रथ तान्नुपर्ने भएकाले पुजारी, गुठीयार र सानो सङ्ख्यामा स्थानीयवासीको सहभागिता रहेको बताइएको छ ।

बाह्रवर्षको मेला परेकाले पहिलो पटक गत वैशाख ६ गते रथारोहण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भएपनि वैशाख १२ गतेको भूकम्पका कारण क्षति भई रोकिएको रथ जात्रा पुनःनिर्माण पछि ज्योतिषीको साइतअनुसार यही असोज ४ गते दोस्रो पटक रथारोहण गरी ५ गतेदेखि जात्रा सुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले बताउनुभयो ।

हजारौँ मानिसको सहभागितामा जात्राको पहिलो दिन रथलाई छ्यासीकोटदेखि भैँसेपाटी सम्म तानिएको थियो भने त्यसैगरी दोस्रो दिन रथलाई भैँसेपाटीदेखि नख्खु खोलासम्म पार गरिएको थियो । परम्पराअनुसार नख्खु खोलामा रथ आइपुग्दा खोलाबाट नाग र नागिनीले रथको दर्शन गर्ने विश्वास रहिआएको छ ।

अन्य समयमा रथ पुल्चोकमा नै निर्माण गरी सोही स्थानबाट रथ जात्रा सुरु हुने गरेको भएपनि यस वर्ष १२ वर्षको विशेष मेला परेकाले रथलाई बुङ्मतीमा निर्माण गरी सोही स्थानमा नै रथारोहण गरी रथ जात्रा सुरु गरिएको हो ।

बाह्र वर्षको मेलाकै कारण रथको सबै भाग नयाँ बनाउनुपर्ने भएकाले गत मङ्सिर महिनादेखि रथ निर्माणको काम सुरु गरिएको थियो । यस जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा लिइन्छ ।

रथमा राखिने विभिन्न भागको निर्माण गर्न मात्र करिब पाँच महिनाको समय लागेको निर्माणकर्मी दिलकुमार बारहीले जानकारी दिनुभयो ।

बारहीका अनुसार अन्य भागको तुलनामा पाङ्ग्रा र रथ निर्माणको कामलाई जटिल रुपमा लिइन्छ । रथको पाङ्ग्रा बनाउन दुई महिनाको समय लागेको थियो ।

त्यस्तै वेद, जुटबाट बनेको डोरी र काठबाट निर्माण गरिएको रथ अग्लो हुने भएको हुँदा एक हातले लड्नबाट बच्नको लागि समाउने पर्ने र अर्का हातले रथ निर्माणको काम गर्नुपर्ने भएकाले अत्यन्तै जटिल भएको निर्माणकर्मी बताउँछन् ।

रथमा राखिने विभिन्न भागमध्ये खट, घमा, घमा पासा, पाङ्ग्रालगायत सामग्रीलाई महत्वपूर्ण मानिन्छ । रथ निर्माणको लागि मात्र रु १५ लाख खर्च भएको गुठी संस्थानले बताएको छ । चार पाङ्ग्रालाई मुख्य चार भैरवका रूपमा लिने गरिन्छ ।

प्रकृति विपद्का कारण यस वर्ष १२ वर्षे मच्छिन्द्रनाथको रथ जात्रालाई पनि निकै समस्या परेको थियो । अब निरन्तर रुपमा जात्रा सञ्चालन गर्न पाए असोजको अन्तिम सातासम्ममा भोटो देखाउन सकिने गुठी संस्थाने बताएको छ । आज चौथो दिन रथलाई पुल्चोकबाट गाबाहल ल्याउने तयारी भइरहेको छ । रासस