गाईघाट (उदयपुर), ७ असोज । विभिन्न आन्दोलनकारी राजनीतिक दलद्वारा ३८ दिनदेखि निरन्तर बन्द गर्दै आएको उदयपुर जिल्लाका विभिन्न स्थानका बजार तथा पसललगायत सदरमुकाम गाईघाट बजारका पसल आजदेखि खुलेका छन् ।
जिल्लाका विभिन्न बन्दकर्ता राजनीतिक दलहरुद्वारा बन्दलाई निरन्तरता दिएको भए तापनि त्रियुगा उद्योग वाणिज्य सङ्घ उदयपुर, गाईघाटको नेतृत्वमा आज बिहानैदेखि उदयपुरका पसल खुलेको त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटले बताएको छ ।
बन्दकर्ताको निरन्तर बन्दका कारण व्यापारी, उद्योगी तथा उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको भन्दै उद्योग वाणिज्य सङ्घले आजदेखि जिल्लाका विभिन्न स्थानमा माइकिङ गर्दै बन्द खुलाइएको सङ्घका प्रतिनिधिहरुले बताउनुभएको छ ।
लामो बन्दका कारण व्यापारी, उद्योगी तथा सर्वसाधारण उपभोक्ताले मार खेप्न परेको भन्दै अब आफूहरुले कसैले भन्दैमा बजार तथा पसल बन्द नगर्ने कुरा पनि सङ्घका सचिव कृष्ण भण्डारीले बताउनुभयो ।
अब बन्दकर्ताहरुले आफ्ना माग पूरा गराउन अन्य बाटोबाट जान पर्ने तर सर्वसाधारणलाई मारमा पारेर र बन्द गरेर आफ्नो माग पूरा गराउने कार्य बन्द गर्नुपर्ने पनि सङ्घका वरिष्ठ सदस्य हरि घिमिरेले बताउनुभयो ।
आज बिहानैदेखि सङ्घको नेतृत्वमा त्रियुगा नगरपालिकालगायत सबै क्षेत्रमा सङ्घका प्रतिनिधिले बजार पसल खोल्न अनुरोध गरेपछि आज बिहानैदेखि उदयपुरका बजार तथा पसल खुल्न सुरु भएका छन् ।
लामो समयपछि बन्द खुलेका कारण सर्वसाधारण पनि हर्षित हुँदै जनजीवन सहज भएको महसुस गर्न थालेको गाईघाटका एक स्थानीय विष्णु पोखरेल बताउनुहुन्छ ।
सङ्घले बजार खुलाएसँगै उदयपुरको सदरमुकाम गाईघाटका सम्पूर्ण पसल, पेट्रोल पम्प, होटल, किराना पसल सञ्चालनमा आएका छन् ।
सङ्घको नेतृत्वमा व्यापारी तथा उद्योगी व्यवसायीले स्वतःस्फूर्त बजार तथा पसल सञ्चालन गरेका कारण उनीहरुलाई सुरक्षा दिन प्रहरी सुरक्षाकर्मी तयार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
व्यापारी तथा उद्योगीहरुले आफैँले बजार पसल खोल्दछन् भने उनीहरुलाई आन्दोलनकारीहरुले जबर्जस्ती बन्द गराउनुहुन्न, यदि त्यसो भयो भने प्रहरीले हस्तक्षप गर्ने कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) टेकबहादुर गुरुङले बताउनुभयो ।
उद्योण वाणिज्य सङ्घले बन्द खुलाएसँगै जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था पनि कडा बनाएको छ । रासस















प्रतिक्रिया