३० आश्विन २०८३, शुक्रबार

भारतीय राजदूतले ओलीको सट्टा प्रचण्डलाई किन रोजे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-ranjit-ray-kp-oli

काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कडा रुपमा प्रस्तुत हुन थालेपछि भारतले एमाओवादी अध्यक्ष प्रचण्डको साथ लिन खोजेको छ ।

नेपालको संविधान र समसमायिक राजनीतिमा भारतीय भूमिकाको चर्को आलोचना गरेपछि भारतीय पक्ष असन्तुष्ट बनेको आभास गरिएको छ । भारतीय निकटस्थ स्रोतका अनुसार, ओलीकै नेतृत्वमा संविधान बनेको र ओलीको अडानकै कारण आफ्नो आफ्नो मिसन असफल भएको निष्कर्षमा भारत पुगेको छ । भारतले नेपाल सामु पेश गरेको भनिएको सात बुँदे प्रस्तावको पनि बुधबार एमाले अध्यक्ष ओलीले कडा रुपमा निन्दा गरेका थिए ।

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष ओली कठोर बनेपछि भारतले प्रचण्डलाई कार्डको रुपमा प्रयोग गर्न खोजेको स्रोतको दाबी छ । भारतीय राजदूत रञ्जित रेले भने नेपाल फर्किएकै दिन एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटी मधेशको समस्या समाधानका लागि नेतृत्व लिन आग्रह गरेका छन् । बुधबार साँझ एमाओवादी अध्यक्षलाई उनकै निवास लाजिम्पाटमा भेटेर मधेश समस्या समाधानका लागि अग्रणी भूमिका खेलिदिन आग्रह गरेको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले बताए ।

नयाँ संविधानविरुद्ध आन्दोलन गरिरहेका पक्षसँग वार्ता गर्न र त्यसको नेतृत्व गर्न प्रचण्ड नै उपयुक्त पात्र हुने राजदूत रेको भनाइ थियो ।

संचारमाध्यममा आएका खबरको खण्डन गर्दै भारतीय राजदूत रेले भारतले नेपालको संविधानमा सातबुँदे सुझाव नदिएको पनि प्रष्ट पारे ।

एमाओवादी अध्यक्ष प्रचण्डले भने वार्ता र संवादमार्फत नै तराई मुद्दालाई सम्बोधन गराउन आफूहरु तयार रहेको र त्यसका लागि मधेस केन्द्रित दलका नेताहरूसँग छलफल जारी राखेको जबाफ दिएका थिए ।

वरिष्ठ नेता बाबुराम भट्टराईलाई साथै राखेर दाहालले राजदूत रेसँग छलफल गरेका थिए। राजदूत रेले बुधबार नै प्रधानमन्त्री सुशील कोइरालालाई भेटी वार्तामार्फत तराईका समस्या टुंग्याउन आग्रह गरेका थिए।

कोइराला र प्रचण्डसँगको भेटपछि भारतीय राजदूत एमाले अध्यक्ष ओलीसँग पनि भेट्ने तयारीमा रहेको स्रोतले बतायो ।