काठमाडौं, ६ असोज । भारतले नेपालमा नाकाबन्दी लगाउने समाचार आइरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल र भारतीबीचका सीमानाकाहरुमा नाकाबन्दी गर्ने निर्णय गरेको छ ।
मधेसी मोर्चाको आज राजविराजमा बसेको बैठकको निर्णयअनुसार भारतसँग जोडिएका प्रमुख नाकाहरुमा अबरोध गरी नाकाबन्दी गर्ने निर्णय भएको छ । सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार त्यसका लागि कार्यविभाजन पनि भएको छ ।
कार्यविभाजनअनुसार तराई मधेस सद्भावना पार्टीले काँकडभिट्टामा अबरोध गर्नेछ भने संघीय समाजवादी फोरम नेपालले विराटनगर, सद्भावना पार्टीले वीरगञ्ज र तराई मधेस लोकतान्त्रिक पार्टीले भैरहवा नाकामा अबरोध गर्ने निर्णय भएको महासचिव सुमनले बताउनुभयो ।
मधेसी मोर्चाले राजमार्गहरुमा मानव साङ्गलो बनाउने निर्णय गरेको छ । बैठकले साढे एक महिनादेखिको आमहड्तालको कार्यक्रमलाई पनि यथावत राख्ने निर्णय गरेको सुमनले बताउनुभयो ।
सरकार र प्रमुख तीन दल वार्ताका लागि सकारात्मक नरहेको आरोप लगाएको मधेसी मोर्चाले यथाअवस्थामा वार्ता नगर्ने निर्णय गरेको छ । उसले वार्ताका लागि आफूहरुका पहिलाकै माग पूरा हुनुपर्ने जनाएको महासचिव सुमनले उल्लेख गर्नुभयो ।
मधेसी मोर्चाले आन्दोलनरत समूहसँग सहकर्या गरेर आन्दोलन गर्नका लागि चार सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा सद्भावना पार्टीका महासचिव मनीष सुमन, संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ, तराई मधेस समाजवादी पार्टीका रामनरेश राय र तमलोपाका गोविन्द चौधरी रहनुभएको छ ।















प्रतिक्रिया