काठमाडौं । नेपाली चलचित्रका नायक राजवल्लभ कोइरालाको मुख्य भूमिका रहेको हलिउडको चलचित्र हाइवे टु धम्पुस यही असोज ८ गतेदेखि नेपालका सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ ।
असोज ४ गते काठमाडौंमा आयोजित प्रेस भेटघाटमा सो कुराको जानकारी गराईएको हो । प्रेस भेटघाटमा अमेरिकामै बस्दै आएका नायक कोइरालाको पनि उपस्थित थियो । समारोहमा उपस्थित अर्का कलाकार देशभक्त खनालले यस चलचित्रमा नेपालको अन्नपूर्ण हिम श्रृखला लगायत आसपासका दृश्यहरु अत्यन्त मनोरम तबरले उतारिएको हुँदा हलिउडका दर्शक र अन्य निर्माताहरुको लागि नयाँ स्वाद हुने विश्वास रहेको बताए । नायक राजवल्लभले पनि यस चलचित्रको विश्वव्यापी प्रदर्शनपछि हलिउडको यात्रा अझ सहज हुने विश्वास व्यक्त गरे ।
नेपालमा यस चलचित्रको वितरणको जिम्मेवारी पाएको कम्पनी आइसफल प्रोडक्सन प्रालिका प्रवन्ध निर्देशक रामकृष्ण पोखरेलले भविष्यमा आफनो कम्पनीले अन्य हलिउडका र नेपाली चलचित्र पनि वितरण गर्ने र नेपाली चलचित्रको निर्माणमा पनि अघि बढने योजना रहेको बताए । उनले हलिउड लगायत अन्य देशका चलचित्र निर्माताहरुलाई नेपालमा छाँयाकन गराउन आफनो कम्पनी सक्रिय रहेको र भविष्यमा थप तदारुकताका साथ यस कार्यलाई निरन्तरता दिने पनि बताए । यस चलचित्रको प्रवद्र्धनको लागि नेपालस्थित अमेरिकी दूतावासको पनि सहयोग रहने बताइएको छ ।
यस चलचित्रमा नेपालका विभिन्न साँस्कृतिक र भौगोलिक सौन्दर्य उजागर गरिएको छ । यस चलचित्रमा नायक कोइरालाका अलावा नायिका सुयशा राणा र देशभक्त खनालले समेत महत्वपूर्ण भुमिकामा अभिनय गरेका छन् । यसका अलावा अन्य हलिउडकै कलाकारहरुको पनि अभिनय रहेको छ ।
















प्रतिक्रिया