काठमाडौँ, ४ असोज । नेपाल भ्रमणमा रहनुभएका डेनिस राजकुमार फ्रेडरिक एन्ड्रे हेनरिक नेपाल रेडक्रसको केन्द्रीय कार्यालय कालिमाटीमा आज जानु भई सोसाइटीका गतिविधिबारे जानकारी लिनुभयो ।
डेनिस रेडक्रसको मानार्थ कमिसनरको हैसियतमा उहाँ अनौपचारिक भ्रमणमा भदौ ३१ गते नेपाल आउनुभएको थियो ।
सो अवसरमा मानवीय सेवामा सोसाइटीले गरिरहेका कार्य एवम् भूकम्पपश्चात् उद्धार, राहत तथा पुनःस्थापनाका बारेमा सोसाइटीका अध्यक्ष सञ्जीव थापा र महामन्त्री देवरत्न धाख्वाले राजकुमार फ्रेडरिकलाई अवगत गराउनुभएको थियो ।
सो अवसरमा राजकुमार फ्रेडरिकले भन्नुभयो– “नेपाल भ्रमणका क्रममा मैले अति रमणीय जिल्ला लमजुङको गाउँबस्तीमा जाने मौका पाएँ, त्यहाँको अनुपम जीवनशैली र आर्थिक–सामाजिक अवस्था नियाल्दा विशिष्ट अनुभूति गरेँ ।” उहाँले मानवीय सेवामा सोसाइटीले गरिरहेको कार्यप्रति धन्यवाद दिनुभयो ।
सो अवसरमा अध्यक्ष थापाले भन्नुभयो, “डेनिस रेडक्रस र नेपाल रेडक्रसको मित्रता अविच्छिन्न रहेको अवस्थामा राजकुमारको भ्रमणले हामी उत्साहित भएका छौँ ।”
यसअघि राजकुमार फ्रेडरिकले डेनिस रेडक्रसको सहयोगमा लमजुङ जिल्लाको पूर्वी गाउँमा सञ्चालित पूर्व तयारी तथा भूकम्प सहयोग कार्यक्रमको अवलोकन गर्नुभएको थियो ।
त्यस क्रममा उहाँले स्थानीय खोलामा पौडी खेल्नुभयो, स्थानीय प्राथमिक विद्यालयको निरीक्षण गर्नुभयो र कापी, किताब, चकजस्ता आधारभूत पठनपाठनका सामग्री सहयोग पनि गर्नुभएको थियो । राजकुमार फ्रेडरिकको आजै स्वदेशतर्फ फर्किने कार्यक्रम छ । रासस















प्रतिक्रिया