काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा वास्तविक ज्ञान र विद्वतालाई बेवास्ता गर्दै व्यक्तिलाई देवत्वकरण गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन्।
मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका विमोचन कार्यक्रममा बोल्दै ओलीले अहिले ‘नक्कली भगवान्’ जन्मिने क्रम बढेको टिप्पणी गरेका हुन्।
पौराणिक प्रसङ्ग जोड्दै उनले भगवान् तथा देवताको जन्मसँग सम्बन्धित कथालाई वर्तमान समाजसँग तुलना गरेका थिए। यही क्रममा उनले पछिल्लो समय समाजमा देखिएको अन्धश्रद्धा र व्यक्तिपूजामाथि कटाक्ष गरे।
ओलीले आफ्नै देशका विद्वान् तथा उनीहरूले दिएका ज्ञान र विचारलाई पर्याप्त सम्मान नगर्ने तर बाहिरबाट आएका व्यक्तिलाई भने असाधारण रूपमा सम्मान गर्ने प्रवृत्ति रहेको बताए।
उनका अनुसार दक्षिणतिरबाट आएका जोगी वा साधुसन्तलाई सहजै ठूलो सम्मान गर्ने नेपाली समाजले आफ्नै देशका विद्वान् र उनीहरूको योगदानलाई त्यही स्तरको महत्त्व दिने गरेको छैन।
विदेशी लेखकका पुस्तक र विचारलाई बढी उद्धृत गर्ने तर नेपाली विद्वान्का कृति तथा दर्शनप्रति कम चासो देखाउने प्रवृत्तिप्रति समेत ओलीले प्रश्न उठाए।
आफ्नै ज्ञान, दर्शन र विद्वताको पहिचान गर्न नसक्ने तथा बाह्य व्यक्तिलाई सहजै महान् ठान्ने मानसिकताप्रति लक्षित गर्दै उनले ‘नक्कली भगवान्’ जन्मिएर हैरान भएको व्यङ्ग्य गरेका हुन्।















प्रतिक्रिया