गोरखाबजार, ४ असोज । एमाओवादी गोरखामा क्रियाशील भट्टराई विचार समूह पक्षधरले संविधानको स्वागतमा गोरखा बजारमा निकालिएको सद्भाव ¥याली तथा संयुक्त सभा कार्यक्रम बहिष्कार गरेका छन् । हजारौँ जनताको सहभागितामा हरमटारीदेखि बसपार्कसम्म भएको ¥यालीमा डा बाबुराम भट्टराई विचार समूहका जिल्लास्थित नेता, कार्यकर्ता सहभागी नभएका हुन् ।
एमाओवादी भट्टराई विचार समूहको अध्यक्ष रहँदै आउनुभएका यानप्रसाद भट्ट देउरालीस्थित गाविसस्तरीय संयन्त्रले आयोजना गरेको एक कार्यक्रममा व्यस्त हुनुहुन्छ । उपाध्यक्ष ज्ञानेन्द्र कुमाल र सचिव रमेश पोखरेललगायत नेता, कार्यकर्ता पनि ¥यालीमा सहभागी नभएका हुन् । उपाध्यक्ष कुमाल काठमाडौँमा रहेको दाबी गर्दै सचिव पोखरेलले फुर्सद नभएकाले कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिनुभयो ।
कार्यक्रममा नजानु भन्ने केन्द्रीय निर्देशन नभएको दाबी गर्दै पोखरेलले एक थान संविधान आउँदैमा खुसी हुने, रमाउने, तामझाम गर्नुको अर्थ नरहेको बताउनुभयो । एमाओवादीको प्रचण्ड विचार समूह र डा बाबुराम भट्टराई विचार समूहको गोरखामा छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा छ ।
गतवर्षदेखि एमाओवादी भट्टराई समूहले समानान्तर जिल्ला कमिटी गठन गरी छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो । जिल्ला कमिटी, तीन क्षेत्रमा क्षेत्रीय कमिटीका साथै गाउँ–गाउँमा पनि समानान्तरक गाउँ कमिटी गठन गरिसकेको छ ।
गाउँका जनता सहरमा
गोरखाको गाउँ–गाउँदेखि मानिसहरु संविधान जारी भएको खुसियालीमा सहर आएका छन् । विभिन्न वेशभूषामा सजिएर उनीहरु सदरमुकाम आई सद्भाव ¥याली तथा संयुक्त सभामा सहभागी भएका हुन् । हिमालपारिका सात गाविसबाहेक अन्य गाविस र दुई नगरपालिकाका विभिन्न वडाका मानिसहरु सदरमुकाम आएका छन् ।
¥यालीमा भजन समूह, महिला समूह, खेलाडीहरु, राजनीतिक दलका कार्यकर्ताहरु, बह्मकुमारी ईश्वरीय विश्वविद्यालयका विद्यार्थी, राजनीतिक दलका भ्रातृ सङ्घ सङ्गठन, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकारलगायत सहभागी भएका छन् ।
बसपार्कमा भएको संयुक्त सभालाई नेपाली काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला सभापति हरिबहादुर घले, नेकपा एमाले केन्द्रीय सदस्य रामशरण बस्नेत र एमाओवादी केन्द्रीय सदस्य सुशीला सिंखडालगायतले सम्बोधन गर्नुभएको थियो ।
गाउँ–गाउँमा सभा
संविधान जारी भएको खुसियालीमा गोरखाको गाउँ–गाउँमा सभा तथा स्वागत कार्यक्रम भएका छन् । दोस्रो व्यापारिक केन्द्र आरुघाट बजार, पालुङ्टार बजार, भच्चेक बजारलगायत क्षेत्रमा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताले सम्बोधन गर्नुभएको छ । स्थानीयवासी हातहातमा प्लेकार्ड बोकेर कार्यक्रममा उपस्थित भएका छन् । जनताको हातबाट संविधान लेखिएको भन्दै भूकम्पपीडितहरु पनि खुसी देखिएका छन् । देउराली, छोप्राक, मनकामना, आँपपीपल, हंशपुर, बारपाकलगायत गाविसमा संविधानको स्वागतमा कार्यक्रम गरिएको हो ।
सरकारी कार्यालयमा दीपावली
संविधान जारी भएको अवसरमा गोरखाका सरकारी तथा गैरसरकारी कार्यालयमा दीपावली गरिएको छ । आइतबार साँझ दीपावलीमा सहभागी भएका कर्मचारीहरु आज आयोजित खुसियाली साटासाट कार्यक्रममा सक्रिय रुपमा सहभागी भएका छन् ।
प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनासहित सेना, प्रहरी, सशस्त्र प्रहरी कार्यक्रममा सहभागी भएका हुन् । संविधान जारी भएको कर्मचारीहरु पनि खुसी देखिन्छन् । त्यस्तै गोरखा उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी समिति गोरखा, पृथ्वी राजमार्ग बस सञ्चालक समिति गोरखा शाखा, नेपाल पत्रकार महासंघ, मानव अधिकार तथा शान्ति समाजलगायत सङ्घसंस्थाले संविधानको स्वागतमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । रासस















प्रतिक्रिया