१ कार्तिक २०८३, शनिबार

एक वर्षमा एक सय पन्ध्र बायोग्यास निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bio-gasइलाम, २ असोज । पाथीभरा गोबरग्यास कम्पनीले गत आव ०७१/७२ मा इलाममा ११५ वटा बायोग्यास निर्माण गरेको छ । कम्पनीले ९० प्रतिशत छ घनमिटरका र अन्य चार र आठ घनमिटरका बायोग्यास निर्माण गरेको हो ।

धुवाँ नआउने, वातावरण स्वच्छ तथा गृहिणीको स्वास्थ्यमा समेत असर नपर्ने भएपछि उपभोक्ता पछिल्लो समय बायोग्यासतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका चमैता, कन्याम, चिसापानी, इलाम नगरपालिकालगायतका क्षेत्रमा बायोग्यास बनाउने धेरै छन् ।

छ घनमिटरको बायोग्यासमा दैनिक ३६ किलोग्रामसम्म गोबर हाल्दा तीन घन्टासम्म चुलो बल्ने गर्छ । “राम्रोसँग गोबर र पानी मिसाएर हाल्दा छ घनमिटरको बायोग्यासले १० जनाको परिवारलाई बिहान बेलुका खाना पकाउन सकिन्छ” – पाथीभरा गोबरग्यास कम्पनीका शाखा प्रबन्धक चन्द्रप्रसाद आचार्य भन्नुहुन्छ – “अहिले यस किसिमका गोबरग्यासमा उपभोक्ता आकर्षित बन्न थालेका छन् ।”

गोबरग्यास निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ३० हजार अनुदान दिने गरेको छ । आदिवासी जनजाति, दलित, एकल महिलाका लागि थप तीन हजार अनुदान दिने गरेको कम्पनीले जनाएको छ । उक्त अनुदानबाटै २३ प्रकारका सामग्री र प्राविधिक खर्च पुग्ने कम्पनीले जनाएको छ । बायोग्यास निर्माण गर्दा उपभोक्ताले प्राविधिकलाई खर्च दिनुपर्दैन, प्राविधिक खर्च सबै कम्पनीले नै व्यहोर्दै आएको छ ।

अनुदानबाटै बायोग्याससँगै अधिकांशले मानिसको दिसापिसाबसमेत मिसाउने गरेका छन् । यसका अतिरिक्त सुली, बङ्गुरको लिदी, मिसाउने गरिएको छ । थोरै सुलीबाट पनि धेरै ग्यास निकाल्न सकिन्छ, आचार्यले भन्नुभयो “एक किलोग्राम परेवा, कुखुरा र हाँसको सुलीबाट एक घन्टा, १० किलो लिदीबाट एक घन्टा, १० लिटर गाईवस्तुको मूत्रबाट आधाघन्टा चुलो बाल्न सकिन्छ ।”

बायोग्यास निर्माणले हावामा मिथेन ग्यासको मात्रा कम गराई वातावरण सन्तुलन कायम गर्नमा मद्दत पुग्ने कार्यक्रम अधिकृत नेत्रमणि भट्टराई बताउनुहुन्छ । “जिल्लाका धेरै क्षेत्रबाट बायोग्यासको माग छ”, भट्टराईले भन्नुभयो – “परम्परागत चुलोमा भन्दा बायोग्यासबाट धेरै फाइदा हुने भएकाले यसप्रति उपभोक्ता आकर्षित छन् ।”

मेचीका चार जिल्ला र मोरङलाई कार्यक्षेत्र बनाएको पाथीभरा गोबरग्यास कम्पनीले हालसम्ममा इलाममा मात्रै चार हजार ४८ वटा बायोग्यास निर्माण गरेको छ । रासस