
महेन्द्रनगर, १ असोज । महिलामाथि हुने हिंसा न्यूनिकरण गर्ने दायित्व हामी सबैको हो भन्ने सन्देश दिदै कञ्चनपुरको दोधारामा तीज प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सहभागी ५ टिमका महिलाहरुले समाजमा विद्यमान महिला हिंसालाई झल्काउदै, न्यूनिकरण गर्ने दायित्व हामी सवैको भन्ने सन्देश दिएर, प्रतियोगिता हेर्न आएका लगभग ५ हजार बढीको मन जिते । स्थानीयको प्रयास भयो भने महिला माथि हुने हिंसा न्यूनिकरण हुने र पीडितलाई न्याय दिलाउन प्रहरी प्रशासनलाई पनि मद्धत मिल्ने उनीहरुको भाव थियो ।
निकै मार्मिक तथा यथार्थपरक प्रस्तुति दिएका टिम मध्ये उत्कृष्ट भने उदयदेव महिला सहकारीको टिम भयो । टोलीले ३ हजार नगद पुरुस्कार पाएको छ । यसै गरि महिला स्वास्थय स्वमं सेविकाको टोलीले दोस्रो हुदै २ हजार र एकीकृत शान्ति समुह तेस्रो हुँदै १ हजार नगद पुरुस्कार प्राप्त गरेको छ ।
यस वर्षको तीजमा गाउँघरका महिलाका कुरा गीतका माध्यमबाट प्रस्तुत भएर सवैको ध्यान तानेको स्थानीय महिला रेखा गुरुङको अनुभव रह्यो । ‘गीतमा पोखिएका भावनालाई सवैले बुझेर व्यवहार परिवर्तन गरे महिला माथि हिंसा हुने थिएन,’ गुरुङले भनिन । यसैगरि स्थानीय युुवती वविता सुनारले पनि यो वर्षको तीजमा फरक महसुस गरिन । ‘नाच्ने गाउने मात्र नभइ यो वर्ष जनचेतनाको काम पनि तीजबाट भयो ।’ सुनारले भनिन् ।
कालिका तीज मेला समितिका अध्यक्ष विनोद थापाको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कमलकुमार बड्वाल प्रमुख अतिथि हुनुहुन्थ्यो भने, शसस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजनाका कार्यक्रम अधिकृत धनवहादुर थारु विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
यस अघि रमाइलो र सांस्कृतिक निरन्तरताको लागि मनाइदै आएको तीजमा यो वर्ष भने समाजमा विद्यमान विकृति विसंगतीका विरुद्ध समाजलाई सन्देश दिने काम भएको आयोजक कालिका तीज मेला समितिका अध्यक्ष विनोद थापाले बताउनुभयो ।
समाजमा विद्यमान विभिन्न समस्याले सामुदायिक सुृरक्षामा चुनौति थपेकोले सामुदायिक सुरक्षा समिति गठन भएपछि यस्ता सवालमा काम गर्न हौसला मिलेको थापाले बताउनुभयो ।
शसस्त्र हिंसा न्यूनिकरण तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजनाले दोधारामा सामुदायिक सुरक्षा समिति गठन गरेको थिए । सामुदायिक सुरक्षा समिति गठन भए पछि सामुदायिक सुरक्षाका सवालमा दोधारा चादनीमा विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आएका छन ।


















प्रतिक्रिया