–सूर्य थापा
खराने कठपुतली सरकारका लम्पसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई व्यक्तिगत रूपमा मैले खासै संगत गरेको छैन । व्यक्तिगत रूपमा कुनै रिसराग र मायामोह हुने पनि कुरा भएन । उनी संसार देखेका, भियतनामी अमेरिकी बिहे गरेका, अमेरिकी नागरिकताप्राप्त, विदेशी विश्वविद्यालय पढेका, विश्व बैंक लगायतले पत्याएका र अंग्रेजी खर्रर्र बोल्ने मान्छे परे । मानौं उनी बाहेक यसरी अंग्रेजी बोल्ने नेपालमा दोस्रो कोही थिएन, घण्टे अपराधी ग्याङले यसै भनेको पाइन्छ !
२०७९ को निर्वाचनमा प्युठानबाट म निर्वाचित भएर आएपछि दलबदलु हुँदै संयोगवश उनी उपचुनावबाट प्रतिनिधिसभामा आए र अर्थ समितिमा पनि सँगसँगै सदस्य रहेर काम गरेको अनुभव भने साझा रहेको छ ।
उनी भेटरान अर्थशास्त्री रहेको सुनिन्थे । तर तीन वर्ष अर्थ समितिमा रहँदा उनको भेटरान नभएर अति सामान्य भूमिका र अत्यन्त न्यून उपस्थिति मात्र देख्दा आश्चर्य लाग्यो । राष्ट्रिय योजना आयोगका सदस्य र उपाध्यक्ष रहिसकेका उनी सदनमा पनि अत्यन्त विवदास्पद सुनिन्थे ।
जस्तो कि–
१) अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जका सम्बन्धमा प्रक्रिया रोक्न पहिले प्रारम्भिक बुलामा दिएको निर्देशन कायम राखिरहनुपर्ने सान्दर्भिकता समाप्त भएको थियो । त्यस्तो स्थितिमा समितिले सर्वोच्च अदालतको नयाँ आदेशअनुरूप पनि हुनेगरी निर्णय र निर्देशन गर्दै समितिको पूर्व निर्देशन फुकाऊ गर्ने निर्णय गर्यो । त्यसमा उनले लेखेको नोट अफ डिसेन्ट लेख्नु अनावश्यक, रोचक र हास्यास्पद थियो । त्यसले उनको बौद्धिक दिवालियापन स्पष्ट गरेको पाउन सकिन्थ्यो ।
२) अर्थ समितिमा रहेको एक विधेयकमा आवासीय गृहकार्य र छलफल गर्न हामीहरू सभापतिजीले व्यक्तिगत प्रबन्ध गरी मिलाउनुभएको गोकर्ण फरेस्ट रिसोर्टमा पुगेका थियौं । त्यहाँ अन्तिम दिन बिहानको सत्रमा उनी अतिथिसरी पुगेर पूर्व अर्थमन्त्रीहरूको लहरमा आफै आसनग्रहण गर्दै आफू नयाँ रहेको भाषण दिनपुगे । मैले त्यहीं राष्ट्रिय योजना आयोगमा सदस्य र उपाध्यक्ष रहेर विगतमा बजेटको सिलिङ तथा बजेट निर्माण प्रक्रियामा लागिसकेको अनुभव बोकेको तपाईं कसरी नयाँ हुनुभयो ? तपाईं नयाँ होइन, परीक्षण भइसकेको पात्र हो भनेर टिप्पणी गरेपछि उनी त्यही सत्रका लागि उपस्थित भएको जसरी आफ्नै समितिको कार्यक्रम नै पूरा नगरी बिचमै हिँडेको देख्दा कमजोर जिम्मेवारीबोध पनि छर्लङ्ग अनुभव भएको थियो ।
३. अर्थ समितिले निकै मिहिनेतका साथ वैकल्पिक विकास वित्त परिचालन कोष विधेयक सर्वसम्मतिले पारित गर्दा सायद उनको पनि उपस्थिति थियो । तर उनी नै अर्थमन्त्री भइसकेपछि प्रतिनिधिसभा र संसदले पारित गरेको त्यही नामको विधेयकमा त्यतिबेला अर्थ मन्त्रालय र अर्थमन्त्रीसँग हामीले समितिमा गरेको कठोर र एकताबद्ध प्रयासका साझा प्रावधानहरू भाँचभुच र काटकुट पारेर अर्थहीन बनाइएको छ । कोषको पूँजी संरचनासम्बन्धमा अर्थमन्त्रीसँग नोकझोक गरिकन गरिएको संशोधित व्यवस्थासमेत स्यालको सिङ हराएजस्तै गरेर नाममात्रको अर्थहीन कानुन बनाइएको छ । दुई तिहाइको संख्या यस्तो निकम्मा भएको पाउँदा झन् उदेक लागेको छ ।
४. त्यतिबेला उनले प्रतिनिधिसभामा नेपाली सेना र पार्टीको प्रशिक्षणका क्रममा परराष्ट्र मामिलामा मुनरो डक्ट्रिनका बारेका बोलेका विषय त घोर आपत्तिजनक र नेपालको हित एवं पुर्खाको गौरवशाली विरासतविपरीत नै थिए । उनले आफ्नो राष्ट्रियता समेत अमेरिकी रहेको विवरण नेपालमा राजनीतिक नियुक्ति लिंदा सार्वजनिक भइसकेको छ ।
५. केही समयअघि र भर्खरै नयाँ दिल्ली पुगेर त उनले आफ्नो हरिबिजोग हविगत नै प्रदर्शन गरे । दर्शक दीर्घाबाट उनले भारतीय विदेशमन्त्रीलाई गरेको प्रश्न र बोलेको ‘राष्ट्रवादी देखिन भारतको विरोध गर्ने युग सकियो’ भन्ने घोषणा खासमा टिप्पणीकारहरूले उल्लेख गरेजस्तै ‘तेल घस्ने’ क्रममा चिप्लिएको नभएर मात्र नेपालको राष्ट्रिय पीडा, अपमानको अनदेखा गर्दै प्रदर्शन गरेको स्वाभिमानविपरितको निर्लज्ज लम्पसारवाद हो । पद प्राप्त गर्न र व्यक्तिगत स्वार्थसिद्ध गर्न उनी कतिसम्म घुँडा टेक्न, प्रोटोकल उल्लंघन गरी तेल घस्न र राष्ट्रिय स्वार्थको सौदावाजी गर्न तम्तयार छन् भन्ने दृष्टान्त यसमा स्पष्ट पाइएको छ । उहिले डा. मुकुल ढकालले सार्वजनिक गरेको तथ्यमा विश्वास गरिनहालेकाहरू पनि अब छाँगाबाट खसेजस्तै हुन पुगेका छन । उनले भारतीय समकक्षीसँगको द्वीपक्षीय बैठकमा नेपालको झण्डासम्म राख्ने ढंग नपुर्याउने तोइलामे व्यवहार र कार्यको पहिल्यै आलोचना भइसकेको छ ।
६. देशको अर्थतन्त्रको सुधारमा यिनको विज्ञताले कुनै सारभूत प्रयास र परिणाम देखाउन सकेको छैन । कथित चिठ्ठा प्रकरणले यिनको अवस्था देखाइसकेको छ । बजेट वक्तव्यसँगैको ‘बीवाईडी ईभी’ गाडीको भन्सार मिलेमतो र घोटालाका बारेमा त संसदमा यथेष्ट आवाज उठेको हो, जसलाई दुई तिहाइको कालो रूमालले मुख छोप्नेगरी ढाकछोप गरिएको देख्दा यिनको सुशासनको खोक्रो बकवास पनि उदाङ्गो भएको छ ।
७. नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०७४ सालमा वाम गठबन्धनमार्फत झण्डै दुई तिहाई बहुमतको सरकार बनाएपछि नेपाली काँग्रेस करिब दुई दशक सरकारमा आउन नसक्ने स्वआंकलनका साथ उनी देश छाडेर पलायन भई शेरबहादुर देउवाको लिखित सिफारिस लिएर सायद अन्तर्राष्ट्रिय एजेन्सीमा जागिर खान पुगेका थिए । पछि सर्वोच्च अदालतको परमादेशमा देउवा प्रधानमन्त्री नियुक्त भएपछि उनी पुन: अवसरको खोजीकै क्रममा नेपाल फर्किएका थिए । यिनको नेपालमोह पदमोहबाहेक अरू केही नरहेको स्पष्ट छ । केही महिना पद नभएर खाली बस्नुपरे यिनी जागिरको खोजीमा भौतारिदैं विदेश पलायन भइहाल्ने ‘ट्रयाक रेकर्ड’ बनेको छ ।
८. विदेशी नाम चलेका विश्वविद्यालयको उपाधिलाई केही भन्नुभन्दा पनि पदलोलुपहरूले त्यसको दुरूपयोग गरेको विरोधाभासपूर्ण अभ्यासमा नेपाली रैथाने (होमग्रोन) बौद्धिक क्षेत्रले हस्तक्षेप गर्न सकेको छैन । त्रिभुवन विश्वविद्यालयका उत्पादित उच्च योग्यतायुक्त जनशक्ति विदेशमा खोजिने, नेपालमा भने केहीजस्तो नठानिने उपहासको पक्षपातपूर्ण व्यवहारका कारण नेपाललाई आफनो ‘क्यारियर’को सिंढी उक्लने ‘ट्रान्जिट स्टेसन’ मात्र बनाउन उद्यत यस्ता पात्रहरू योग्यता र निष्ठाच्यूत भए पनि पटकपटक ‘इन्जेक्टेड’ हुन पाएको विडम्बना देशले भोगिरहनु परेको छ ।
९. छिमेकमा गएर कूटनीतिको निर्धारित सीमा उल्लंघन गरी नेपालको हित र स्वाभिमान विपरित वक्तव्यवाजी गरेका अर्थमन्त्री वाग्लेको कथन उनले सम्हालेको मन्त्रालयसँग शतप्रतिशत असम्बन्धित र मन्त्रिपरिषदको कार्यविभाजनको व्यवस्थाविपरित कार्यक्षेत्रभन्दा टाढै रहेको छ । यस्तो स्थितिमा उनलाई प्रधानमन्त्रीले यथासंभव छिटो बर्खास्त गरी देशबाट विदा दिन सक्नुपर्दछ । अन्यथा यिनले नेपाल राष्ट्रको हित, स्वाभिमान र गरिमा विरूद्दका कार्य र अनाडी हर्कत अझ बढाउदै जाने खतरा विद्यमान देखिन्छ ।
१०. नेपालको अर्थमन्त्री अर्थहीन बोलेर अरूलाई खुशी पार्ने ध्यानमा मग्न भई जस्तो पायो, त्यस्तै फोरममा सहभागी हुनु र देशकै विरूद्ध बोल्नु सामान्य हुन सक्दैन । कालापानी, लिपुलेक र लिम्पियाधुरामा अतिक्रमण भएको भू–भाग फिर्ता गर्न भनिनु किमार्थ भारतविरोधी राष्ट्रवाद थिएन । सुस्तामा सीमा अतिक्रमणको विरोध भारतको विरोध गर्ने युगको राष्ट्रवाद होइन । सुगौली सन्धि र नयाँ मुलुक थपसहितको नेपाली सरहदको सुरक्षा र हितको कुरा भारतविरोधी भनाइ होइन । देश सानो र ठूलो हुनसक्छन्, तर स्वाभिमान सानो वा ठूलो हुँदैन । आफ्नो देशको संविधानसभाले जारी गरेको संविधानको खिलाफमा नाकाबन्दी थोपरिंदा भारतको नभएर नाकाबन्दीको विरोध भएको हो । यत्ति पनि नबुझ्ने अबुझलाई अर्थमन्त्री मान्नुपर्ने र स्वार्थलम्पट जमातका राष्ट्रविरोधी अर्ति-उपदेश सुन्नुपर्ने दुर्भाग्यपूर्ण नियतिमा हामी नेपालीहरू नयाँ ब्राण्डका कारण धकेलिएका छौं । यो अवसरवादी, महत्वाकांक्षी र पदलोलुपहरूको देश बर्बादीको होडबाजी बाहेक केही होइन ।















प्रतिक्रिया