२१ कार्तिक २०८३, शनिबार

मोदीका दूत जयशंकरको पहिलो भेट केपी ओलीसँग, बालकोटमा वार्ता जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

S-JayaShankar-meets-KP-Oli

काठमाडौं, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा आज विहान काठमाडौं आएका भारतीय विदेश सचिव एस जयशंकरले पहिलो भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेका छन् ।

भारतीय अधिकारीसहित काठमाडौं आएका मोदी दूत जयशंकर अहिले बालकोटमा एमाले अध्यक्ष ओलीसँग छलफल गरिरहेका छन् ।

यसअघि जयशंकरले प्रधानमन्त्री सुशील कोइरालालाई विहान १० बजे भेट्ने कार्यतालिका बनाइएको थियो । तर, प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण कार्यतालिका हेरफेर गरी जयशंकरले ओलीसँग पहिलो भेट गरेका हुन् । प्रधानमन्त्रीसँगको भेट साँझलाई सारिएको भारतीय राजदूतावासले जनाएको छ ।

विदेश सचिव जयशंकरले आज दिउँसो राष्ट्रपति डा रामवरण यादवसँग शीतल निवासमा भेटघाट गर्ने कार्यक्रम छ । जयशंकरले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तराई मधेस केन्द्रित राजनीतिक दलका नेताहरुसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

संविधानसभाले नेपालको संविधान, २०७२ पारित गरी असोज ३ गते जारी गर्न लागेको सन्दर्भमा उनी आज विहान ९ बजे नेपाल भ्रमणमा आएका हुन् ।

विदेशसचिव जयशङ्करले नेपालमा रहँदा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्ने नेपालस्थित भारतीय दूतावासका प्रेस सूचना तथा संस्कृति विभाग प्रमुख अभयकुमारले जानकारी दिए ।