२१ कार्तिक २०८३, शनिबार

भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतले क–कसलाई भेट्दैछन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

S.-Jayashankar-Indianकाठमाडौं, १ असोज । नेपालले संधिवानसभाबाट नयाँ संविधान पारित गरेर लागू गर्ने अन्तिम तयारी गरीरहेका बेला छिमेकी राष्ट्र भारतले आफ्नो विशेष दूत नेपाल पठाउँदैछ ।

नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने भारतले विषेश दूत पठाउनुलाई राजनीतिक विश्लेषकहरूले महत्वका साथ हेरेका छन् ।

आज बिहान काठमाडौं आइपुग्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एवम् विदेश सचिव एस. जयशंकरसँग नेपालका लागि भारतीय राजदूत रञ्जीत रेपनि सँगै आउँदैछन् । राजदूत रे नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा जानकारी गराउन भारत गएका थिए ।

मधेसी र थारू समुदायका मागहरू सम्बोधन गर्न उनीहरूसँग वार्ता गरेरमात्र संविधान जारी गर्ने सुझाव विदेशमन्त्रीको तहबाट सार्वजनिक गरिसकेको भारतले प्रधानमन्त्री मोदीकै विशेष दूत पठाउँदा तिनै चासोलाई अरू प्रखर रूपमा व्यक्त गर्ने अनुमान गरिएको छ ।

विदेशसचिव जयशंकरले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई अलगअलग भेट्ने कार्यक्रम छ । जयशंकरले भारतीय दूतावासले छानेका केही मधेसी नेताहरूसँग सामूहिक भेटघाट गर्ने स्रोतको भनाइ छ ।

जयशंकरसँगको भेटका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू राजधानीमा अड्डा जमाएर बसेका छन् ।

विदेशसचिव जयशंकरले प्रधानमन्त्री पदका दाबेदार केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेट्ने कार्यसूची बनाएका छन् । उनी शनिबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।

यसअघि भारतीय प्रधानमन्त्री मोदी र एमाले अध्यक्ष ओलीबीच बुधबार टेलिफोनमा करिब सात मिनेट वार्ता पनि भएको थियो । सोही वार्तापछि मोदीले आफ्ना विशेष दूत नेपाल पठाएका हुन् ।