२८ आश्विन २०८३, बुधबार

गाउँभरि एक मुरी अन्न छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Bacha Sangaधादिङ । गाउँका साहु भनिएका सिद्धिबहादुर चेपाङको घरमा अन्न सकिएको छ । घरमा भएकालाई नै खानेकुरा छैन । बाहिरबाट पाहुना आउँछन्, खुवाउन नसकेर उनी निरास छन् । जीवनभर कन्दमूल खोजेर खानेकुरा जुटाउँदैमा मर्ने बेला भइसकेको सिद्धिबहादुरको भनाइ छ ।

दक्षिणी धादिङको महादेवस्थान गाविस– ३ बु्रसबाङका चेपाङ समुदाय अहिले खानेकुरा सकिएर खोले र कन्दमूलको भरमा एक छाक खाएर बसिरहेका छन् ।
बिहान उठेपछि बच्चाहरू झाडीतिर सिस्नो टिप्न जान्छन् । अलि ठूलाहरू जङ्गलतिर गिट्ठा भ्याकुर खोज्न हिँड्छन् । युवाहरू धेरैजसो ज्याला मजदुरी गर्न छिमेकी गाउँतिर जाने गर्छन् । महिलाको मुख्य काम भने घरमा पानी ल्याउनु बनेको छ । पानी लिन टाढा जानुपर्ने भएकाले अन्य मानिसले पनि उनीहरूलाई सघाउँछन् ।

गाउँको अवस्था दयनीय बन्दै गएको गाउँवासीको गुनासो बढ्दै गए पनि सरकारी तथा गैरसरकारी निकाय यसप्रति मौन छन् ।
सत्ताइस घर चेपाङ समुदायको बसोबास रहेको ब्रुसबाङ पुग्न पृथ्वीराजमार्गको मलेखुबाट दुई घण्टाको गाडीको यात्रा र चार घण्टाको पैदलयात्रा गर्नुपर्छ ।

महाभारतको डाँडामा खोरिया फाँडेर पुस्तौँदेखि बसोबास गर्दैआएका चेपाङलाई आफ्नो उत्पादनले खान नपुग्ने भए पनि उनीहरू आफ्नो थलो छाडेर बसाइँ जानसकेका छैनन् । गाउँमा खाने वस्तु केही नभए पनि आफूहरूलाई आफ्नै जन्म गाउँ प्यारो भएको सानुकान्छा चेपाङले बताए ।

फागुनमा छरेको मकै कात्तिकमा पाक्छ । चिसो डाँडामा बस्ने सबै चेपाङ समुदायको एउटै गाउँ भए पनि उनीहरूले आम्दानी गर्ने र वैकल्पिक उत्पादनको लागि कुनै अवसर पाएका छैनन् । ब्रुसबाङका नाममा सञ्चालन भएका गैरसरकारी संस्थाको कार्यक्रम कागजमा मात्र सीमित रहने गरेको फियान नेपालका राजेन्द्र बस्नेतले बताए ।

केही गैरसरकारी संघ संस्थाले गाउँमा पानीको व्यवस्था भइसकेको, विभिन्न तालिम चलाएर सीप विकास गरी नयाँ काम गर्न थालेको, विद्यालय सञ्चालन गरेको जस्ता झुटा प्रतिवेदन बनाएर जिल्ला तहमा पेस गर्ने गरेको बस्नेतको आरोप छ ।

सञ्चारकर्मीसहितको टोलीले केही दिनअघि ब्रुसबाङको अध्ययन गरेको थियो । धेरै संघ संस्थाले चेपाङ विकासका लागि ब्रुसबाङमा बर्र्सेेनि करोडौँ रकम खर्च गरेको प्रतिवेदन हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ । सरकारको गरिबी निवारण कोषको कार्यक्रम र चेपाङ विकास कार्यक्रम २०३४ सालदेखि सञ्चालनमा ल्याएको छ । तर ब्रुसबाङले कहिल्यै पनि कोल्टे फेर्न सकेको छैन ।

सिस्नो, टाँकी, बेथे, गिट्ठा, भ्याकुर, खोले खाएर कष्टकर जीवन बिताउनु ब्रुसबाङवासीको नियति बनेको छ । उनीहरूको सधैँको चासो भनेको कसरी खाने भन्ने मात्र हो ।