काठमाडौं, ७ असार । स्वीजरल्याण्डका विभिन्न बैंकमा नेपालीको नौ अर्ब भन्दा बढी रकम भेटिएको छ ।
स्वीस बैंकले बिहीबार सार्वजनिक गरेको विवरणमा नेपालीको पनि नौ अर्ब २२ करोड रुपैंया मौज्दात देखिएको हो । जुन आठ करोड ५० लाख स्वीस फ्यार्याङ्क हुन्छ ।
स्वीजरल्याण्डको केन्द्रीय बैंक स्वीस नेशनल बैंकले बैंक्स इन स्वीजरल्याण्ड २०१३ प्रतिवेदनमा यो सार्वजनिक गरेको हो । तर, ३ सय वटा बैंक भएको स्वीजरल्याण्डमा त्यो रकम कस्ले जम्मा गर्यो केही खुलाइएको छैन् । बैंकिङ नियम अनुसार पनि खातावालाको नाम र रकम गोप्य राखिन्छ ।
कालो धन लुकाउन प्रयोग गरिने स्वीजरल्याण्डमा यति धेरै रकम भेटिएपछि त्यो रकम कस्को भन्ने प्रश्न उठ्न थालेको छ । यो शंका पूर्वराजपरिवारदेखि लडाकूको शिविरमा करोडौं घोटाला भएको भनिएको एमाओवादीतर्फ पनि सोझिएको छ । पूर्वराजारानीको सम्पत्ति खोज्दै आएको नेपाल ट्रष्टले अहिलेसम्म विदेशी बैंकमा मौज्दात रकमको विवरण पाउन सकेको छैन । दिंवगत राजा वीरेन्द्रदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्ममाथि यो शंका गरिएको छ ।
यता, एमाओवादी प्रचण्डमाथि लडाकू शिविरको रकम आफैले राखेको आरोप वैद्य माओवादीले अहिले पनि लगाउने गरेको छ । कतै प्रचण्डले नै त्यो रकम राखेका त होइनन ? या नेपालका व्यापारी र कर्मचारीले गैरकानुनी रुपमा कमाएको रकम त्यहाँ राखेका होलान ? प्रश्न उब्जिएको छ ।
नेपालका बैंकमा धेरै रकम देखिँदा अख्तियारले समात्ने भएकाले पनि नेपाली राजनीतिक दलका नेता, कर्मचारी र व्यापारीले रकम लुकाएको हुनसक्ने आशंका गरिएको छ । नेपालमा अहिले अख्तियारका साथसाथै सम्पत्ति शुद्धीकरण विभागले अकुत रुपमा कमाएको सम्पत्तिमाथि निगरानी गरिरहेको छ । तर, त्यो रकम नेपाल फर्काउन त्यति सहज भने छैन ।
भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि विदेशी बैंकमा लुकाएको रकम खोज्न न्यायाधिशको नेतृत्वमा एउटा समिति नै गठन गरिएको छ । भारतले विदेशमा थुपारिएको कालो दिन स्वदेश फर्काउन पहल गरिरहेको छ । अब स्वभाविक प्रश्न उठ्छ, यसरी विदेशी बैंकमा पैसा भेटिँदा नेपालले चाँहि कस्तो कद्म चाल्छ । नेपाल सरकारले प्रभावकारी कद्म चाल्ने हो भने थुप्रैको करतुत छिट्टै सार्वजनिक हुने पक्का छ ।














प्रतिक्रिया