३० आश्विन २०८३, शुक्रबार

भन्सार राजस्वको केही प्रतिशत रकम गाउँको विकासमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-paisaकाठमाडौँ, २७ भदौ । सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सारबाट उठ्ने राजस्वको १.५ प्रतिशत जिल्लाको स्थानीय विकासमा खर्च हुँदै आएकोमा दुई वर्षदेखि रोकिएकाले पुनः छुट्याउन माग गरिएको छ ।

दुई वर्षदेखि स्थानीय विकासको रकम कट्टा गरी केन्द्रमा राखिएकाले पुनः फिर्ता गराउने व्यवस्थाका लागि आज राजधानीमा आयोजित सिन्धु विकास सरोकार समितिको दोस्रो वार्षिक साधारणसभाका सहभागीले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य निमा घ्याम्छो लामाले जिल्लाको बृहत्तर विकासका लागि १.५ प्रतिशत करको अंश राख्ने व्यवस्था मिलाइनुपर्ने बताउनुभयो ।

“राजधानी नजिकै भइकन पनि पिछडिएको जिल्लाका रुपमा परिचित भएकाले स्थानीय विकासका लागि दिइने १.५ प्रतिशत रकम फिर्ताका लागि पहल गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान चाल्चाभँडेल र जिल्ला सहकारी सङ्घका अध्यक्ष कृष्णभक्त नेपाललगायत वक्ताले जिल्लाको विकासका लागि स्थानीय विकास कर पुनः राख्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

सभाले पाँच वर्षे कार्यकालका लागि १७ सदस्यीय समितिको कार्य समिति पनि निर्वाचित गरेको छ । समितिको अध्यक्षमा चित्रकुमार चौलागार्इं, सहअध्यक्षमा नयनबहादुर पण्डित क्षेत्री, वरिष्ठ उपाध्यक्षमा उद्धवराज सिवाकोटी र उपाध्यक्षमा कामी शेर्पा, निमा शेर्पा र महेशकुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः रामचन्द्र खड्का, आशीष खड्का, छिरिङ लामा र दोर्जे लामा रहनुभएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । रासस