तनहुँ, २७ भदौ । प्रहरीको गोली लागेर शुक्रबार राति मृत्यु भएका व्यास नपा–१ का १७ वर्षीय रोशन दुरालाई सहिद घोषणा र पीडित परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
शनिबार सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको सुरक्षा समितिको बैठकले सो सिफारिस गरेको हो ।
यस्तै प्रर्दशनको क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्न पनि मन्त्रालयमा सिफारिस गरिएको छ ।
साथै गत सोमबार मृत अवस्थामा भेटिएका पूर्णबहादुर आलेको मृत्यु र रोशनको हत्याको सम्बन्धमा उच्चस्तरबाट निश्पक्ष छानबिनकालागि क्षेत्रीय प्रशासन कार्यालयमा अनुरोध समेत बैठकले गरेको छ ।
बैठकमा गण्डकी अञ्चल प्रहरी कार्यालयका एसएसपी बलराम शर्मा पौडेल र जिल्ला सुरक्षा समितिका सदस्यहरु जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार आचार्य, सशस्त्र प्रहरीका एसपी मुरारी बस्नेत, रामवाण गुल्मका गुल्मपती दुर्गाबहादुर थापा, प्रमुख अनुसन्धान अधिकृत अच्युत विष्ट र सदस्य सचिव जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत दामोदर शर्माको उपस्थिती रहेको थियो ।
यसअघि प्रकाशचन्द्र भट्टराई उद्योग बाणिज्य संघको समन्वयमा सघको कार्यालयमा बसेको राजनीतिक दल सहितको सर्वपक्षिय बैठकले मृतकलाई सहिद घोषणा गर्नु पर्ने, पीडित परिवारलाई अधिकतम क्षतिपूर्ति दिनुपर्ने, उक्त घटनाको निश्पक्ष छानविन गरिनु पर्ने र पुर्णबहादुर आलेको मृत्यु प्रकरणको पनि उचित छानविन गर्नु पर्ने निश्कर्ष निकाली प्रकाशचन्द्र भट्टराई उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितको अध्यक्षतामा संघर्ष समिति गठन गरेको थियो ।
सोही संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो माग पत्र पेश गरेको थियो ।
यसैविच शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा स्थानीय प्रशासन र पीडित पक्षवीच भएको सहमतिलाई आन्दोलनकारी युवाहरुले अवज्ञा गरेका छन् ।
स्थानीय प्रशासन र पीडित पक्ष विच मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई १० लाख क्षतिपूर्तिको सिफासिर र गोली काण्डको छानबिन गर्ने लगायतका विषयमा सहमति भएपनि प्रर्दशनमा उत्रिएका युवाहरुले सो सहमति नमान्ने भन्दै शनिबार साँझसम्म प्रर्दशन गरेका थिए ।
उनीहरुले मान्छे मारेर १० लाख तिरेर उम्कन नपाउने भन्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् । शनिबार दिनभर पनि प्रदर्शनकारी युवा र प्रहरीवीच झडप भइरहेको थियो ।
प्रदर्शनकारीहरुले प्रहरीलाई ताकेर ढुङ्गा हानेका थिए । प्रहरीले भीड तितरबितर पार्न अश्रुग्याँस र लाठी चार्ज गरेको थियो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका थिए ।
यसैगरी गत सोमबार मृत अवस्थामा भेटिएका व्यास नपा–७ का १६ वर्षीय पूर्णबहादुर आलेको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुनः पोष्टमार्टम हुने भएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा भएको सहमति अनुसार आलेको शव पुनः पोष्टमार्टमकोलागि शनिबार विहानै काठमाडौं लगिएको छ ।
यसअघि दमौलीमा भएको पोष्टमार्टम रिर्पाेटलाई पीडित पक्षले अस्वीकार गरेका थिए । उनीहरुले अभियुक्त पक्षसँग मिलेर पोष्टमार्टम रिर्पाेट तयार गरिएको आरोप लगाएका छन् ।
उनीहरुले सो घटनाको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान र छानबिनमा चित्त नबुझाई क्षेत्रीय प्रहरी कार्यालयको उच्च स्तरीय टोलीले नै छानबिन हुनु पर्ने माग समेत गरेका छन् ।
















प्रतिक्रिया