धनगढी, २५ भदौ । कैलाली-कञ्चनपुर थारुहट थारुवान हुनुपर्ने माग राख्दै आन्दोलन भइरहेका बेला एमाले जिल्लास्तरीय नेतृ चुनकुमारी चौधरी भने आदिवासी जनजातिलाई विशेषाधिकार दिएर उनीहरुको हकअधिकार सुनिश्चित गरिनु पर्ने धारणा राख्छिन् ।
अब आउने संविधानले थारुहरुलाई विशेषाधिकार सहितको अधिकार सम्पन्न बनाउने कुरा उल्लेख भएमात्रै थारुसहित आदिवासी जनजातिको उत्थान हुने उनको तर्क छ ।
‘थारु जाति राज्यबाट बर्षौदेखि शोषित पीडित हुँदै आएकाले उनीहरुलाई विषेषाधिकार सहितको खाका बाहिर आउनुपर्छ,’ उनले भनिन्–‘राज्यका हरेक निकायमा थारु सहित जनजातीलाई समान सभागिता गराउनु पर्छ । आरक्षणको व्यवस्था हुनुपर्छ ।’
शीर्ष नेताहरुले पनि भनिरहेका छन् कैलाली कञ्चनपुरका थारु जातिलाई विशेषाधिकार दिन्छौं तर त्यो विशेषाधिकार केहो कुरा स्पष्ट आइदिनुपर्ने एमाले नेतृ चौधरीको भनाई छ ।
अहिले भइरहेको आन्दोलनका जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउँदै चौधरी भन्छिन्–‘कैलाली कञ्चनपुर एक प्रदेश हुँदैमा केही विग्रिदैन् । कञ्चनपुरदेखि दाङसम्म बस्ने हामी सबै समुदायको भाषा, रहनसहन, भेषभुषा एउटै छ । वर्षौदेखि हामी मिलेर एउटै समाज र समुदायमा मिलेर बस्दै आएका छौं । जिउँदाका जन्ती र मर्दाका मलामी हुन्छौ । तर समाजमा अहिले जुन द्धेष फैलाउने काम भइरहेको छ त्यसले सद्भाव विगार्ने काम भएको चौधरीको भनाई छ ।
टीकापुर घटनामा मधेशी नेताहरुले पश्चिमका सोझा साझा थारुहरुहरुलाई उक्साएर ढाल बनाएको उनको तर्क छ । थारु पहाडीको नारा लगाएर पश्चिममा मिलेको समुदायलाई भड्काउने कामको संज्ञा दिइन उनले । टीकापुर घटनापछि कैलालीमा सामाजिक सद्भावको आवश्यकता छ । समाजिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, मानअधिकारकर्मी, नागरिक समाजका अगुवा राजनीतिक दलहरु एकजुट भएर लागिदिन चौधरीले आग्रह गरिन् ।
उनले भनिन् उत्पीडनमा परेको जातीलाई जातीय राज्य होइन् अधिकार चाहिन्छ । अधिकार प्राप्तिपछि उत्पीडनमा परेको समुदायको उत्थान हुन्छ भनिन् । समाजमा सयौं जातजातीका मानिसहरुको बसोवास छ । एउटालाई राज्य दिने अर्कोलाई पाखा लगाउने भन्ने हुँदैन् उनले भनिन् ।
थारुहट थारुवानको आन्दोलनमा नेपाली काँग्रेस, एमाओवादी लगायत विभिन्न पार्टीका कार्यकर्ताहरु खुलेर लागेका छन् भने एमाले कैलाली जिल्ला स्तरीय नेतृ चौधरी भने त्यो आन्दोलनमा सहभागी छैनन् ।
उनले जसरी पनि चाँडै संविधान जारी हुनुपर्ने बताइन् । संविधान बन्न नदिने खेल भइरहेको बताउँदै उनले संविधान बने मात्रै मुलुकको भविष्य उज्वल हुने बताइन । सीमित स्वार्थ बोकेकाहरु संविधानका बाधक देखिएको बताउँदै उनले सोझा साझा इमान्दार थारुको बदनाम नगर्न समेत सुझाइन् ।
















प्रतिक्रिया