काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत गठित उपसमितिले सरकासँग विभिन्न दल, समूह र सरोकार भएकाहरुसँग भएका सहमति तथा सम्झौताका बारेमा एउटा छिट्टै टुङ्गोमा पुग्ने निर्णय गरेको छ ।
राजधानीमा आज (मंगलबार) बसेको उपसमितिको बैठकमा सरकारले विभिन्न दल तथा समूहसँग भएका सहमति सम्झौता, छलफलका क्रममा रहेका विषयवस्तुमा छलफल भएको हो ।
सहमतिहरुका सम्बन्धमा वर्गीकरण गरी ती संविधानका अन्तर्वस्तुसँग सम्बन्धित छन वा छैनन् भन्नेबारेमा वैशाख २१ गतेसम्ममा उपसमिति एउटा निष्कर्षमा पुग्नेछ ।
बैठकपछि उपसमिति सदस्य रामकुमार राईले सरकार र विभिन्न राजनीतिक दल, द्वन्द्वरत पक्ष, सशस्त्र वा निःशस्त्र समूह, आदिवासी जनजातिसँग भएका सहमतिमा अध्ययन भएको बताए ।
यसैबीच, व्यवस्थापिका–संसद मातहत रहेको राज्य व्यवस्था समितिको आजको बैठक स्थगित भएको छ । संसद र समितिको बैठकको समय जुधेका कारण बैठक स्थगन भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले बताए । बैठकमा उपप्रधानमन्त्री वामदेव गौतमलाई आमन्त्रण गरिएको थियो ।











प्रतिक्रिया