– भाष्कर केसी
महेन्द्रनगर, २३ भदौ । कञ्चनपुरलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राख्दै आएका ६ बिद्यार्थी संगठनहरुले बुधबार जिल्ला बन्दको घोषणा गरेका छन् ।
बन्दका कारण बजार क्षेत्र, उद्योग धन्दा, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प छन् । बन्दको अवज्ञा गरेको भन्दै बिद्यार्थीहरुले बा २ प १४८० नम्बरको मोटरसाइकल तोडफोड गरेका छन्, महेन्द्रनगरको गल्ली नं. ४ स्थीत दुर्गे वर्षा होटलमा तोडफोड गरेका छन् ।
त्यसैगरी बन्द गराउदै हिँडेका विद्यार्थीमाथि बर्षपार्क नजिक रहेको दाजु भाई फाष्टफुडका सञ्चालक नरेन्द्र भण्डारीले आक्रमण गर्दा सुप विश्वविद्यालयको सिद्धनाथ बहुमुखी क्याम्पसका अखिल क्रान्तिकारीका इकाई अध्यक्ष केशव भट्टको टाउकोमा पाँच टाका लागेको छ ।
लोडसेडिङ मुक्त जिल्ला घोषणको माग गर्दै बिद्यार्थीहरुले ४ दिन अघि नेपाल बिद्युत प्राधिकरणका अनिश्चितकालिन तालाबन्दी गरेका थिए । बिद्युत कार्यालयमा घेराउ गर्दै आएका बिद्यार्थीहरुले त्यसले पनि आफना मागको बारेमा सुनुवाइ नभएको भन्दै आज कञ्चनपुर जिल्ला बन्दको घोषणा गरेका हुन् ।
नेविसंघ, अनेरास्ववियु, एमाओवादी, बैद्य माओवादी र विप्लव माओवादी निकट अखिल क्रान्तिकारी अखिल छैटौ लगायतका ६ वटा बिद्यार्थी संगठनहरुले आन्दोलन गरेका छन् भने नेविसंघको देउवा पक्ष र राप्रपा नेपाल पक्षले भने अनिश्चतकाल रिले अनसन गरेर लोडसेडिङ विरुद्ध आन्दोलनमा उत्रेको छ ।
२०६५ साल २०६६ साल र २०६८ सालमा पनि पटक–पटक लोडसेडिङ मुक्त बनाउने बिषयमा सम्झौता भएको थियो र सो अनुरुप केहि समय लोडसेडिङ पनि हटाइएको थियो तर पछिल्लो समयमा ५ घण्टा लोडसेडिङको समय तालिका रहेको भएपनि ८ देखि १० घण्टा सम्म बिद्युत कटौती हुदै आइरहेको छ । बिगतको सम्झौतालाई कार्यान्वयन गर्दै लोडसेडिङ हटाउनुपर्ने बिद्यार्थीहरुको माग रहेको छ । विद्यार्थीहरुको यस आन्दोलनमा व्यापारी, उद्योगी, सबैको मौन समर्थन रहेको छ ।
उत्पादित क्षेत्रका जनताहरुले अग्राधिकार पाउनुपर्ने भन्दै महाकालीबाट निकालिएको बिजुली उपभोग गर्ने पहिलो अधिकार कञ्चनपुरबासीको रहेको उनीहरुको भनाइ रहेको छ ।
















प्रतिक्रिया