काठमाडौं, २३ भदौ । चीनबाट नियमित रूपमा सामान आयात गर्दै आएका एक नेपाली व्यवसायीले करिब दुई महिनाअघि १३ लाख रुपैयाँ पठाउनुपर्ने थियो । तर, चिनियाँ साझेदारले एक्कासि नियमित बैंक खाता नभई अर्कोमा पैसा पठाउन भन्दै इमेल पठाए ।
रोमानियामा आफ्नो हिसाबकिताब मिलाउनुपर्ने भन्दै रोमानियाकै बैंकमा पैसा पठाउन आग्रह भएपछि ती व्यवसायीले सोहीअनुसार १३ लाख रुपैयाँ पठाइदिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
त्यसको केही दिनपछि ती व्यवसायी अचम्ममा परे, जब आफ्ना चिनियाँ साझेदारले सोही सामानको भुक्तानीका लागि आग्रह गरे । नेपाली व्यवसायीले पैसा पठाइसकेका थिए, तर चिनियाँ पक्षले पाएको थिएन ।
रोमानियामा आफूले पैसा पठाउन इमेल नलेखेको चिनियाँ व्यापारीले बताएपछि थाहा भयो, अरू कसैले ह्याक गरेर त्यसरी अर्को बैंक खातामा पैसा पठाउन लगाएका थिए । उस्तै इमेलबाट त्यस्तै आग्रह आएकाले नेपाली व्यवसायी झुक्किएका थिए ।
‘इमेल ठेगानामा अलिकति तलमाथि गरेर नयाँ इमेल आइडी बनाएर यसरी ठगी भएको रहेछ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने ।
ती प्रहरी अधिकारीका अनुसार इमेल ह्याक गरी दुई पक्षबीचको कारोबारको जानकारी लिएपछि अन्तर्राष्ट्रिय ठगहरूले यसरी उस्तै किसिमको इमेल आइडी बनाई अर्को खातामा पैसा पठाउन लगाएर ठगी गरेका थिए ।
इमेल ह्याक गरी नेपाली व्यवसायी ठगिएको यो पहिलो घटना होइन ।
यती एयरलाइन्ससमेत ह्याकरबाट ठगिएको छ । बिमाको पार्टस् खरिदका लागि भनेर हंगेरीको कम्पनीमा पठाएको पैसा ह्याकरहरूले हात पारेका थिए ।
उनीहरूलाई इमेलमार्फत झुक्याएर त्यसरी ठगी गरिएको थियो । कम्पनीले अनुसन्धानका लागि प्रहरीमा आग्रह गरे पनि लिखित उजुरी भने दिएनन् ।
करिब आठ महिनाअघि एक निर्माण व्यवसायीको यसैगरी ६० लाख रुपैयाँ गुमेको छ । व्यवसायीले भारतीय कम्पनीलाई पैसा पठाउनुपर्ने थियो ।
तर, उनलाई दुबईमा पैसा पठाउन भन्दै इमेल आयो । सोहीअनुसार उनले दुबईको बैंक खातामा पैसा पठाइदिए ।
पछि भारतीय पार्टनरले पैसा मागेपछि मात्र उनले आफू नक्कली इमेल आइडीबाट ठगिएको चाल पाएका थिए । ती कन्ट्रक्सन व्यवसायीले पनि छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् ।
ती दुवै घटनामा प्रहरीले अनुसन्धानका लागि अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोग खोजेको छ । तर, ठगी गर्नेहरू पत्ता लागेका छैनन् ।
दुई वर्षअघि अझै रोचक तरिकाले नेपाली कफी व्यवसायीको पैसा नाइजेरियनहरूले ठगी गरेका थिए ।















प्रतिक्रिया