२८ आश्विन २०८३, बुधबार

नेपालमा बालबालिका हराउने क्रम बढ्दो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balbalikaकाठमाडौं । गरिबी र पारिवारिक झमेलाका कारण नेपालबाट प्रत्येक दिन चार/पाँच जना बालबालिका हराउने गरेका छन् ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत बालबालिका खोजतलास समन्वय केन्द्रले गरेको अध्ययनले पारिवारिक वातावरण तथा गरिबीका कारण बालबालिकाले घर छोड्ने गरेको देखाएको हो ।

दिन प्रतिदिन बालबालिका हराउने तथा आपराधिक क्रियाकलापको सिकार हुने प्रक्रिया बढ्दै गएकाले त्यसको रोकथामका लागि सरकारले २०६३ मा सो केन्द्रको स्थापना गरेको थियो ।

केन्द्रले बालबालिका खोजतलास तथा उद्धारसम्बन्धी कार्य तीव्ररुपमा गरेको भए पनि त्यसको व्यवस्थापनमा सरकारले चासो नदेखाउँदा बालबालिकाको जोखिम कम हुन नसकेको केन्द्रका कर्मचारीले गुनासो गरेका छन् ।

बालबालिकाको अधिकार संरक्षण गर्नका लागि सरकारी निकायको सबैभन्दा ठूलो हात हुने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने केन्द्रका कार्यकारी अधिकृत भीमविक्रम शाहीले सुझाव दिए । उनका अनुसार सो केन्द्र जस्तै बालबालिका खोजी गर्ने निकाय अन्य क्षेत्रमा विस्तार गर्न नसक्नाले पनि बालबालिका हराउने क्रम रोकिन सकेको छैन ।