१ कार्तिक २०८३, शनिबार

गुल्मी र प्यूठानमा पहिरोले १२ जनाको ज्यान गयो, दुई अझै वेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi_map

काठमाडौं । अविरल बर्षासँगै आएको पहिरोबाट गुल्मी र प्युठानमा पहिरोमा १२ जनाको ज्यान गएको छ ।

गुल्मीबाट पत्रकार अनिल खत्री र शिव सुवेदीका अनुसार, गुल्मीको पश्चिमी गाविस अग्लुङमा बिहीबार राति पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको छ ।

राति परेको अविरल बर्षाको कारण १ सय ५० मिटर माथिबाट अग्लुङ–८ निपानेमा झरेको पहिरोले एकै परिवारका ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अग्लुङ–८ निपानेका भविलाल कुँवर, उनकी श्रीमती चेती कुँवर, जेठी बुहारी सीता कुँवर, जेठो छोरा तर्फका नाती चेतमान कँुवर, नातीनि बिन्दु कुँवर, नातिनी हरिकला कुँवर, नातिनी विपना कुँवर, घरबाट माइती आएकी भविलालकी जेठी छोरी जुठी विष्ट, कान्छो छोरा तर्फकी नातिनी भिमा कुँवर रहेका डिएसपी राजकुमार लम्सालले जानकारी दिए ।

भविलालका जेठो छोरा भारतमा छन् भने कान्छा छोरा तेस्रो मुलुकमा छन् । कान्छो छोरा छुट्टिएर बसेकोले उनको परिवारको कम क्षति भएको हो । सदरमुकाम तम्घासबाट ४२ किलोमिटर पश्चिममा पर्ने अग्लुङ गुल्मीको अति विकट ठाउँ हो ।

प्रहरी टोली घटनास्थल तर्फ लागेको छ ।

प्यूठानबाट पत्रकार विजयसिंह भारती लेख्छन्- प्यूठानको खुङ–८ मा खाल गएराति गएको पहिरोले तीन घरगोठ बगाएको छ ।

पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना अझै वेपत्ता रहेका छन् । मृत्यु हुनेहरुमा ३० वर्षीया देवा भण्डारी, २ वर्षीया आयसा गिरी, १० महिनाका आशिस गिरी रहेका छन् ।

वेपत्ता हुनेहरुमा ६० वर्षिय डुमबहादुर गिरी र २३ वर्षिय राजु कुवर रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए । यस्तै खुङ–४ ठूलावेशी बजार क्षेत्रमा बाढी पसेको खवर छ । थप उद्धारका लागि विहानै सदरमुकामबाट नेपाल प्रहरीको उद्धार टोलीका साथै रेडक्रस घटनास्थल गएको छ ।