काठमाडौं, २० भदौ । प्रमुख सत्तारुढ दल कांग्रेसले देशका विभिन्न स्थानहरूमा विगत केही समयदेखि घटित भइरहेका अप्रिय घटना एवं तोडफोड, बन्द, हडताल, आगजनी जस्ता सर्वसाधारण जनतालाई दुःख, कष्ट हुने हिंसात्मक गतिविधिहरूबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसले आइतबार बेलुका विज्ञप्ति जारी गरेर आफ्ना पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोड भएको भन्दै सो घटनाले दुखित तुल्याएको जनाएको छ ।
‘पछिल्लो क्रममा नेपालको लोकतान्त्रिक आन्दोलनका मुर्धन्य नेता, शान्ति प्रकृयाका अग्रणी, कांग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री, देश, जनता र लोकतान्त्रिक आन्दोलनलाई अथक नेतृत्व प्रदान गर्ने र हिंसात्मक द्वन्द्वले आहात भएको देशलाई मुठभेडबाट जोगाएर शान्ति प्रकृयातर्फ अग्रसर गराउने, लोकतान्त्रिक गणतन्त्र नेपालका प्रणेता, क्रान्ति पुरुष गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोड भएको घटनाले नेपाली कांग्रेस लगायत समस्त लोकतन्त्रका पक्षधरलाई अत्यन्त दुःखित र स्तब्ध तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।
केही दिनअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगञ्जस्थिति कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शालिक ढालेर क्षति पुराइदिएका थिए ।
त्यसैगरी कथित आन्दोलनका नाममा कांग्रेसलाई नै लक्षित गरी जिल्ला कार्यालयहरू, कांग्रेसका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, सभासद रामकृष्ण यादवलगायतका नेताहरूको घर तोडफोड तथा आगजनी भएको भन्दै कांग्रेसले आक्रोश जनाएको छ ।
‘शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राख्न प्रत्येक नेपालीलाई संविधानले नै अधिकार प्रदत्त गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसको वेवास्ता गर्दै उच्छृखल, अवान्छित र हिंसात्मक गतिविधि गर्न कसैलाई पनि छुट छैन । यस्ता हिंसात्मक क्रियाकलापको कांग्रेस घोर भत्र्सना गर्दछ ।’
कांग्रेसले यस्ता क्रियाकलापहरू नदोहोराउन, संयमता अपनाउन र समाजमा शान्ति, सद्भाव र एकता कायम गर्ने कार्यमा सहयोग पुर्याउन आन्दोलनकारीहरु लगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । साथै, वार्ता र संवादका माध्यमबाट समाधान खोज्न आन्दोलनरत सबै पक्षलाई कांग्रेस आह्वान गरेको छ ।












प्रतिक्रिया